धरान : सुनसरीको कोसी गाउँपालिकाको भाण्टाबारी र हरीपुर चौक बिचको पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जान घाइते भएका छन्।

आज बिहान करिब साढे ७ बजे तिर पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर अर्को पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिँदा पिकअप चालक र मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको भाण्टाबारीका सञ्चारकर्मी पप्पु यादवले जानकारी दिए।

दुर्घटनामा पिकअप चालक विराटनगर-७ बस्ने अक्षकुमार गुप्ताको स्टेरिङमा च्यापिएर मृत्यु भएको छ। तरकारी खरिद ढुवानी गर्न हिँडेका हुनसक्ने उनको गोजीबाट १ लाख ७५ हजार रुपैयाँ नगद पनि प्रहरीले फेला पारेको छ।

सोही हायसले ठक्कर दिएको मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै बीभत्स तरिकाले मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी-५ बस्ने २८ बर्षीय उदय शाह र पछाडि बस्ने विराटनगर-९ का ४५ बर्षिय राम प्रसाद शाहा रहेका छन भने  एक जनाको सनाखत हुन सकेको छैन। हायस चालक विदुर नगरपालिका-३ नुवाकोटका ३५ वर्षीय विवश तामाङ र सोही स्थान बस्ने सहचालक नारायण बस्याल  २ जना घाइते भएका छन् भने सह-चालक बस्यालको खुट्टा भाँचिएको छ।

दुर्घटना पूर्वबाट जाँदै गरेको हायसको तीव्र गतिको कारण भएको घटनाको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ। पहिले मोटरसाइकललाई ठक्कर दिएर हायस पिकअपमा ठोक्किन पुगेको देखिन्छ । सो दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

bhantabari-accident-2

तस्बिरहरु : पप्पु यादव