बराहक्षेत्र : गत एक वर्ष दिनदेखि विश्व इतिहासको सबैभन्दा घातक महामारी नोबेल कोरोना भाइरस कोभिड-१९ महामारीले मानव जातिलाई त्रस्त बनाएको छ। सत्र महिनाको लामो समय बितिसक्दा समेत सङ्क्रमण निर्मूल हुनुको बदलामा विभिन्न रूप परिवर्तन गर्दै सारा संसारलाई आक्रान्त बनाउन अझै उद्धत देखिन्छ।

दुई वर्ष अगाडि २०७६ साल माघ १६ गते चीनको हुबेई प्रान्तको राजधानी वुहानवाट फैलिएको कोभिड-१९ बिस्तारै सम्पूर्ण विश्व लाई सङ्क्रमित बनायो। 

यसवाट नेपाल पनि अछुतो रहन सकेन,संसारको सम्पूर्ण मानव समुदाय अहिले कोरोना भाइरसले सङ्क्रमित भएको छ । बालक, युवा,महिला, पुरुष र वृद्ध वद्धा कोरोनाले पीडित छन् , लाखौँले ज्यान गुमाएका छन् भने धेरैले जीवनकोलागि भाइरस सँग लडिरहेका छन् । 

महामारीले वराहक्षेत्र नगरपालिका लाई पनि आफ्नो सिकार बनायो । एक,दुई हुँदै सुरु भएको महामारी तीव्र गतिमा बढेर पुरै नगरपालिकालाई सङ्क्रमित बनाएको छ ।

नगरमा सङ्क्रमण ˚फैलिन नदिनका नगरपालिकाले तत्काल पहल गर्दै विभिन्न कदम उठाएको र सुरक्षा उपायहरू लागु गरिएको नगरप्रमुख निलम खनालले बताए ।

कोभिड सङ्क्रमण ˚फैलिएको पहिलो वर्षको सुरुवातमा कोरोनाबाट कसरी बच्ने भनेर नगरवासीलाई सूचना दिने, विभिन्न माध्यम वाट प्रचार प्रसार गर्ने र नगरको ११ वटै वार्डमा माईकिङ्ग गरिएको थियो ।

नपाको चतरा स्थित रामानन्दाचार्य सेवा पीठमा प्रदेश सरकारले यसै गरी नपाले महेन्द्रनगर,भरौला,प्रकाशपुर तथा मधुवनमा आइसोलेसन सेन्टर स्थापना गरेको थियो । केही समय सेवा पीठमा होल्डीङ सेन्टर समेत सञ्चालन गरियो।

सङ्क्रमण दर बढ्दै गएपछि नपामा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, एक जिल्लाबाट अर्को जिल्लाको यातायातमा रोक लगाउन चतराको कोसी पुल, छिमेकी कोसी गाउँपालिका लगायत विभिन्न नाकामा कोभिड-१९ पोस्ट खडा गरिएको थियो।

काम विशेषले गर्दा प्रशासनबाट अति जरुरी पास लिएर आएको लाई तापक्रम नापेर अनुकूल भए मात्र नपामा प्रवेश गर्न दिएको खनालले बताए ।

पहिलो चरणमा कोभिडलाई बुझ्दैमा बितेको थियो, केही सम्हालिन नपाउँदै लगत्तै आएको दोस्रो चरणको लहरले बढी आक्रामक ढङ्गमा नपाको प्रत्येक गाउँ टोल लाई सङ्क्रमित बनायो। 

कोरोनाको दोस्रो लहरबाट नगरवासीलाई बचाउन यस पटक भने सुरु देखि तदारुकता देखाउँदै माइकिङ्गवाट सूचना दिने कामलाई जारी राखियो। 

शङ्का लागेका अथवा कोरोनाको लक्षण देखिएकाहरू लाई वार्ड वार्डमा गएर द्रुत परीक्षण विधि र आरटीपिसीआर (रिवर्स टासक्रिप्सन पोलीमेरेज चेन रियक्सन) जाँच लाई निरन्तरता दिइएको, नगरको जन स्वास्थ्य निरीक्षक उमेश मेहताले बताए।

नपामा ज्येष्ठ नागरिक लगायत अन्य नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड र भेरोसिल लाई दुई चरणमा लगाइएको थियो। 

यता नपा र निजी दुवैले कोभिडको लकडाउनमा दैनिक मजदुरी गर्ने विपन्न लाई  खाद्यान्न राहत वितरण समेत गरेका थिए। नपाले वार्ड पिच्छे परिवार लाई चामल ,दाल,तेल,नुन,आलु र सोयाबीन खाद्यान्न उपलब्ध गराएको थियो ।

स्वतःस्फूर्त रूपमा गठन भएका युवाको समूहले पहिलो तथा दोस्रो चरणमा मजदुरहरू लाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ।  कतिपय युवाले सङ्क्रमितको घर घरमा गएर औषधी छर्कने, कोरोनाको बिरामी लाई मास्क,सेनीटाइजर, भिटामिन सी, टाउको र जिउ दुख्ने तथा ज्वरो रोक्ने चक्की (ट्याब्लेट) बाडेका थिए ।

काठमान्डुको बोधिसत्त्व विहार बुढानीलकण्ठ संस्थाले साढे पाँच लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर ३ थान र स्वास्थ्य परीक्षण सामाग्री वार्ड नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरा लाई प्रदान गरेको थियो ।

स्थानीय पत्रकार मार्फत सूमि राई लिम्बु, बोधिसत्त्व संस्थाका मास्टर शन्त शर्मा र तिलक बस्नेतले प्रा.स्वा.केन्द्र लाई गरेको सहयोगमा केन्द्रका व्यवस्थापन प्रमुख डाक्टर अनिल गिरीले आभार प्रकट गरे।

अङ्ग्रेजी इस्वी सम्वत २०१९ को डिसेम्बर महिनामा मा वुहानमा भेटिएको नोबेल कोरोना भाइरस कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले जनवरी महिनामा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल र ३ महिना ११ मार्चमा  मात्र महामारी घोषणा गरेको थियो ।

भाइरसको सङ्क्रमण वाट बच्न जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र, सुनसरीले जारी गरेको सूचना गरिएको लकडाउन लाई नगरपालिकाले पनि लागु गर्‍यो।

चरणबद्ध गरिएको लकडाउनलाई आम जनताले केही समय त पालन गरे, तर पछि बेवास्ता गरे ।मानवीय सङ्कटको घडीमा मास्क नलगाउने, विवाह र भोजभतेरमा भिड जम्मा गरेर लापरबाही गरियो।

यसले गर्दा पुरा नगरपालिका कोरोनामय बन्यो र यसको भाइरस नपावासीको घर घरमा सजिलै प्रवेश पायो ।  फैलिएको महामारी वाट करिब २ दर्जन बढी सङ्क्रमितहरूले ज्यान गुमाएका थिए, जसमा ज्येष्ठ महिलाहरूको सङ्ख्या बढी रहेको थियो । 

नगरमा सङ्क्रमितहरूको यकिन सङ्ख्या यति हो भन्न गाह्रो छ, किनभने कोरोना महामारी अझै सक्रिय छ । सङ्क्रमितको लागि चक्रघट्टीको सप्तकोसी कलेजमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएको ६५ जना सङ्क्रमितहरू ५० जना निको भएर घर गएको छन् ।  

सेन्टरमा २ र बाहिर रेफर गरिएको १ जना गरी ३ कोभिड बिरामीको मृत्यु भएको र सेन्टरमा अहिले ७ जना रहेको प्रमुख अहेब प्रमोद यादवले जानकारी दिए ।  नगरमा अहिले सम्म करिब पाँच सय बाउन्न जनाको स्वास्थ्य परीक्षण गरिईएको छ भने नगरवासी लाई दुई चरणमा केही खोपा लगाइएको छ।  

हाल सम्म कोभिड-१९ कोरोनाभाइरसले विश्वमा करिब १८ करोड मानिस सङ्क्रमित भएका छन् तथा ३८ लाख ८० हजारले ज्यान गुमाएका छन् । कोरोना महामारीको विभिषिका वाट पार पाउन सम्पूर्ण विश्व समुदाय युद्ध स्तरमा लागेका छन् ।

विकसित देशहरू अमेरिका र रुस, जापान, ब्रिटेन र जर्मनी यसै गरी छिमेकी भारत र चीनले फाइजर,मडर्ना,स्पुनिक,कोभिसील्ड, कोभ्याक्सीन र भेरोसेल खोपको विकास गरेका छन्, त्यस मध्ये कोभिसिल्ड र भेरोसेल नेपालमा आएका छन् , तर सबैले खोप लगाउन पाएका छैनन् ।

विभिन्न भेरियन्टको कोरोनाभाइरस आउँने क्रम जारी छ,यसै क्रममा बढी असरदार र धेरै समयसम्म टिक्ने डेल्टाप्लस भेरिअन्ट,   नेपाल लगायत अमेरिका, भारत, जापान, रुस, ब्रिटेन, स्वीजरल्यान्ड र पोर्चुगलमा आएको छ। 

पहिलो र दोस्रो लहरले पस्त बनाएको मानव जाति लाई कार्यशैली परिवर्तन गरेर आइरहेको, कोरोना महामारी वाट विश्वले कहिले उन्मुक्ति पाउने हो कुनै निश्चित छैन।

मानवजातिको सङ्कट महामारी वाट पार लगाउन चिकित्सकले बारम्बार भनिरहेको सबैभन्दा उत्तम र असरदार उपाय भनेको कोरोना प्रोटोकल लाई मान्नु नै हो।

जुन भनेको २ मिटरको व्यक्तिगत दुरी बनाएर अनिवार्य मास्कको प्रयोग गर्नु, पटक पटक २० सेकेन्ड सम्म साबुन पानीले हात धुने र अति आवश्यक काम हुँदा मात्र घर बाहिर जाने नियम लाई, ईमान्दारीका साथ मान्ने हो कोरोनालाई हराउन सकिन्छ। 

कोभिड-१९ कोरोना लाई परास्त गर्न कडाइका साथ कोरोना गाइडलाइन लाई पालन गरौँ, आफू बचौँ,अरूलाई बचाऔँ ।