झापा : झापाको गौरीगञ्ज–५ स्थित चिल्हारामा आगलागी भएको छ ।

गए राति चिल्हारा चोक दक्षिण स्थानीय बरतलाल राजवंशीको भान्सा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

गए राति मध्यरातमा आगलागी हुँदा भान्सा मा राखेको करिब १५ बोरा धान ४ बोरा सुकेको खुर्सानी लगायत कृषिजन्य औषधि हरू जलेर नष्ट भएको पीडित राजवंशीले बताए ।

चिल्हारा चोकमा बाँस बोकेको ट्रक पल्टिएको र सो ट्रक बाट बाँस अनलोड गरी मध्यरातमा घर फर्किँदै गरेका दुई युवाले सो घरमा आगलागी भएको देखेर गुहार मागेपछि स्थानीयले चाल पाएका थिए ।

त्यसपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको गौरीगञ्ज प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।