इटहरी : वैदेशिक रोजगारीको तयारीमा लागेको शिवराज श्रेष्ठ अहिले गाउँमै मासिक ६० हजार कमाउँछन् ।

१२ कक्षा पास गरेपछि इलेक्ट्रीसीयन हेल्परको रूपमा काम गर्दै आएका श्रेष्ठ आफै मालिक भएका छन् । पत्रीकामा विज्ञापन हेरेर इलेक्ट्रीसीयनको तालीम लिएका श्रेष्ठ अहिले आफूलाई पुग्दो आम्दानी गरेको सुनाउँछन् ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि) ले दिएको ६५ दिने तालीमले उनको जीवनमा परिवर्तनको रेखा कोरेको हो । हेल्भेटासको सहकार्यमा आयोजित तालीमबाट उनले आत्मनिर्भर बन्ने अवसर पाए । निम्न वर्गीय परिवारका श्रेष्ठको आर्थिक अवस्था सुधार हुँदै गएको छ ।

आफ्नै कमाइले परिवार चलाउँदै आएका उनले स्थानीय सहकारीमा बचत सुरु गरेका छन् । कक्षा १२ सम्म मेजर इङ्लिस पढेका श्रेष्ठका लागी अहिले हातको शिपनै मेजर (प्रधान) विषय भएको छ ।

आर्थिक हिसाबमा सबल हुँदैगएपछी साथीभाइलाई पनि सिप सिक्न प्रेरित गरिरहेका छन् उनी । हातमा सिप भएपछि बेरोजगारी समस्या समाधान हुने उनको विश्वास छ ।

“मलाई सानै देखी टेक्निकल क्षेत्रमा रुचि थियो । पछि हेल्भेटासले त्यो अवसर दियो । अहिले म राम्रै आम्दानी गरिरहेको छु ।,” उनले भने, “त्यो बेला मेरो विदेश जाने योजना बनिसकेको थियो । नगएर राम्रै गरे भन्ने लाग्छ मलाई ।”

उनी सहित केही युवाहरू मिलेर २४ घण्टे मेन्टेनेन्स सेवा सुरु गरेका छन् । फेसबुक पेज मार्फत प्रचारप्रसार गरेका उनीहरूले राम्रो कमाइको माध्यम फेला पारेका छन् । “हामी चौबीसै घण्टा सेवा दिन्छौँ, राति १२ बजे पनि फोन आयो भने सर्भिस दिन पुग्छौँ । इटहरीमा धेरैले हाम्रो सर्भिस मनपराउनु भएको छ । फोनहरू पनि धेरै आउन थालेको छ,” उनले भने ।

श्रेष्ठ जस्तै इटहरी ३ का दीपेन्द्र पाण्डे पनि अहिले आत्मनिर्भर भएका छन् । पलम्बरको तालीम लिएर दक्ष भएपछि उनलाई आजकल भ्याई नभ्याई हुन थालेको छ । गाउँमा मात्र हैन इटहरी भरिकै चर्चित पलम्बर हुन उनी ।

हातमा सिप नभएको बेला धेरै दुख पाएको अनुभव सुनाउँदै उनले भने “सीप भनेको सीप नै हो, पहिला कमाई नहुँदा धेरैले होच्याएर कुरा गर्थे । अहिले पैसा भएपछि आट आउँदो रहेछ । अरूसँग खर्च माग्नु नपर्दा धेरै खुसी लाग्छ ।”

पुरुषहरू मात्र हैन महिलाहरू पनि त्यत्तिकै सक्षम भएका छन् । इटहरी–१६ बालग्रामकी कला अधिकारी अहिले आत्मनिर्भर भएकी छिन् । यस अघि इटहरी चौकमा कस्मेटिक पसल चलाउने उनले अहिले गाउँमै पार्लर खोलेकी छिन् ।

कस्मेटिक व्यापारमा व्युटीपार्लरको कला भर्दै सक्षम हुँदै गएकी छिन उनी । पार्लरमा थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने उनको विश्वास छ । हाल घरमै बसेर मासिक ३० हजार सम्म कमाई हुने उनले सुनाइन् । हातमा सिप भएपछि आत्मनिर्भर हुन सहज हुने उनको भनाई छ ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबिच सन् २०१५ को डिसेम्बरमा सम्झौता भएदेखीनै विपन्न परिवारका युवाहरूले सिप सिक्ने अवसर पाएका हुन् । सम्झौता अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले हेल्भेटासको सहकार्यमा सीपमूलक तालिम दिँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र र हेल्भेटास नेपाल आयोजना साझेदार तथा सरोकारवाला निकाय हुन् । यस आयोजनाको नेतृत्व नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ । आयोजनालाई पुनः परिष्कृत गरी सन् २०१७ नोभेम्बर देखि सन् २०२२ डिसेम्बरसम्म (५ वर्ष) सञ्चालनका लागि योजना तय गरिएको छ ।

निजी स्तरमा सञ्चालित तालिम तथा रोजगार सेवा प्रदायक संस्था मार्फत ६५ दिने प्राविधिक एवम् व्यावसायिक तालिम सञ्चालन गरी

२४ हजार युवाहरूलाई रोजगारीका लागि सहयोग पुर्‍याइने भएको छ । ठुला तथा मझौला उद्योगहरूलाई आवश्यक पर्ने जनशक्तिको आपूर्तिका १५० दिनको औद्योगिक प्रशिक्षार्थी तालिमको माध्यमबाट ६ हजार लाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ ।

कृषि तथा गैर कृषि क्षेत्रमा आयआर्जन बढाउन यो कार्यक्रम प्रभावकारी देखिँदै आएको छ । लघु, घरेलु तथा साना उद्यम प्रवर्धन गर्ने तथा गरिब घरपरिवार र आप्रवासनबाट फिर्ता हुनेको लागि आयआर्जनको स्रोत प्रदान गर्ने समृद्धिको लक्ष्य रहेको छ ।

रोजगारी सृजना गरी समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्यका साथ समृद्धि परियोजना सुरु भएको हो । गरिबी न्यूनीकरण गर्दै दिगो शान्ति स्थापित गर्न उद्देश्यको साथ ग्रामीण क्षेत्रमा आयोजना केन्द्रित छ ।

सोही अनुसार आर्थिक वर्ष २०७५/७६ मा आयोजना क्षेत्रका १६ वटा जिल्लाका ५ हजार २ जना युवाहरुलाई २३ वटा विषयगत तालिम प्रदान गरिसकेको छ । त्यस्तै चालु आव २०७७/७८ मा १० हजार ७२० जना युवाहरुलाई विभिन्न २७ विषयमा तालिम प्रदान गर्ने काम भइरहेको छ ।

चालु आवमा १४ हजार २८० जना युवाहरूलाई विभिन्न विषयमा तालिम प्रदान गर्ने योजना रहेको समृद्धिका प्रमुख शालिग्राम दाहालले जानकारी दिएका छन् । समृद्धिले हालसम्म निर्माण, मेकानिकल, इलेक्ट्रिक, कम्प्युटर तथा इलेकट्रोनिक्स, अटो मोबाइल, पर्यटन, गार्मेन्ट तथा टेलरिङ, सौन्दर्य क्षेत्रमा तालीम प्रदान गर्दै आएको छ ।

उनका अनुसार प्रदेश १ को ८ वटा जिल्ला मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा कार्यक्रम सञ्चालित छ । प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा कार्यक्रम प्रभावकारी रूपमा अगाडी बढिरहेको छ ।

प्रदेश–३ को एक मात्र जिल्ला सिन्धुलीमा समृद्धि आयोजनाले कार्यक्रम प्रदान गिरहेको छ । समग्रमा १६ जिल्लाका २०८ पालिकामा आयोजना कार्यरत छ ।

समृद्धिले ३० हजार युवाहरूलाई सीपमूलक तालिम उपलब्ध गराई रोजगारीमा प्रतिस्थापनका लागि सहजीकरण गर्ने लक्ष्य राखेको छ । ५० हजार युवाहरूलाई वित्तीय शिक्षा एवम् व्यावसायिक ज्ञान तालिम प्रदान गर्ने आयोजनाको लक्ष्य छ । जसबाट १ लाख २५ हजार घरधुरी लाभान्वित हुने प्रमुख दाहालको भनाई छ ।

त्यसमा पनि ८०% लक्षित वर्ग गरिबीको रेखामुनिका उद्यम व्यवसाय गर्न सक्षम नागरिक रहने अनुमान गरिएको छ । त्यसमध्ये ३३ प्रतिशत महिला, ४० प्रतिशत युवाहरू र ६० प्रतिशत आप्रवासी तथा वैदेशिक रोजगारबाट फर्किएकाहरू हुनेछन् । हालसम्मको अध्ययन अनुसार तालीम लिएका ७५ प्रतिशत आत्मनिर्भर भएको प्रमुख दाहालको दाबी छ ।