धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचारको क्रममा धरान-१८ का एक जना वृद्ध पुरुष सहित २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-१८ का ७२ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा आज ३ बजेर १७ मिनेटमा मृत्यु भएको हो ।

उनलाई असार ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पहिले देखिनै दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी गए राति ९ः१५ बजे रामधुनी-७ का एक ३६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

उनलाई असार ३ गते कोरोना सङ्क्रमण भएको थियो भने ४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।