इटहरी : सामान्य झरीमा समेत इटहरी उपमहानगरपालिकाको कार्यालय जान नसक्ने गरी जलमग्न हुने गरेको छ ।

कार्यालयको गेट सम्मै पानी जम्दा सेवाग्राहीलाई आवतजवतमा समस्या हुने गरेको हो । विगत ५ वर्षदेखिको डुबानको समस्या निरन्तर जारी छ ।

उपमहानगरपालिकाको गेट अगाडी ढल निकास बन्द भएर फोहोर पानी जम्मा हुन थालेको १ वर्ष भयो । इटहरीको मुख्य चोकमै ढल निस्किदा यात्रुहरू नाक मुख थुनेर हिँड्नुपर्ने अवस्था सृजना भएको छ । मुख्य राजमार्गमै ढल निस्किएपछि स्थानीय व्यापारी तथा जनतालाई सकस पर्दै गएको छ ।

इटहरी उपमहानगरपालिकाले भने हरेक आर्थिक वर्षमा बजेट विनियोजन गरेर ढल निकासको समस्या समाधान गर्ने बाचा गरिरहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा इटहरीको मुख्य चोक वरिपरि ड्रेन पुरिँदै जाँदा जोखिम बढ्दै गएको भन्दै खोला तथा ड्रेन सफाइको लागी ५० लाख विनियोजन भएको थियो ।

पंचायतकालका भूमिगत ड्रेन पुरिएको भनिए पनि गणतान्त्रिक कालमा त्यसको मर्मत समेत हुन सकेको छैन ।
त्यस्तै आगामी आव २०७८/७९ को लागी विनियोजित बजेटमा पनि ड्रेन मर्मत गर्ने उल्लेख गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले राजमार्गको ड्रेन व्यवस्थित गर्ने भने पनि अहिले नेपाल सरकार सँगको सहकार्यमा मात्र काम गर्न सकिने बताइएको छ ।

सङ्घीय सरकार र इटहरी उपमहानगरपालिकाको संयुक्त लगानी तथा सहकार्यबाट सञ्चालित हुने सहरी शासकीय सुधार कार्यक्रमबाट ड्रेनका कारण हुने डुबानलाई न्यूनीकरण हुने विश्वास उपमहानगरले गरेको छ ।

डुबान मुक्त इटहरी बनाउने सङ्कल्प लिएको बजेटले यस पटक पनि ड्रेन सफाइमा खासै प्रगति गर्ने देखिँदैन । मुख्य चौक आसपास नै डुबानको खतरा रहेको इटहरीमा हरेक वर्ष स्थानीय त्रासपूर्ण जीवन कटाउन बाध्य छन् ।

Itahari-Duban