धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्यकोलागि संयुक्त सङ्घर्ष समितिले आज देखि रिले अनसन सुरु गरेको छ ।

आज बिहान १० बजे देखि सुरु भएको रिले अनसन संयुक्त सङ्घर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलको नेतृत्वमा डा. पदम नेपाली, डा.अमृत जैसी र दुई जना विद्यार्थीहरू सुवास बन्जाडे र ज्योति बोगटी अनसनमा छन् ।

बीपीको बेथितिको बारेमा असार १ गते देखि निरन्तर आन्दोलन जारी राखे पनि पदाधिकारीहरूले सुनुवाइ नगरेपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै सङ्घर्ष समितिले आजदेखि रिले अनसन सुरु गरेको सङ्घर्ष समितिका सदस्य डा. पदम नेपालीले कपुरी न्युजलाई जानकारी दिए ।

प्रतिष्ठान सुधार र सुदृढीकरणको लागि चिकित्सक कर्मचारीहरू कति प्रतिबद्ध र समर्पित छन् भनेर देखाउन रिले अनसन सुरु गरेको बताए सङ्घर्ष समितिले जनाएको छ।

अनसनले पनि पदाधिकारीहरूको रवैया नफेरिए सामूहिक राजीनामा लगायतका आन्दोलनहरूको स्वरूपहरू परिवर्तन हुँदै जाने डा. नेपालीले बताए। प्रतिष्ठानका पदाधिकारीहरूले प्रतिष्ठानको सवारी साधनको दुरुपयोग गरेको भन्दै हिजो सङ्घर्ष समितिले चाबी नियन्त्रणमा लिएको छ।

प्रतिष्ठानको सवारीसाधनको दुरुपयोग बढेकोले अव प्रतिष्ठानको गाडीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लेख्ने सङ्घर्ष समितिले जनाएको छ । रिले अनसन २४ सै घण्टा जारी रहने बताइएको छ ।

Reele-ansan-2