धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले इलाका प्रहरी कार्यालय धरानमा कार्य अवधि पुरा भएर सरुवा हुन लागेका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतलाई बिदाइ गरेको छ भने धरानमा सरुवा भई आएका डिएसपी नरेन्द्र कुँवरलाई स्वागत गरेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले धरानमा रहुन्जेल आफ्नो कार्यावधिभर डिएसपी बस्नेतले गरेको सहकार्य, कार्य शैली, शालीन स्वभाव प्रशंसनीय रहेको बताएका थिए ।

डिएसपी बस्नेतको कार्यशैली अविस्मरणीय रहेको र बस्नेत धरान रहुन्जेल धरानमा शान्ति सुरक्षा कायम भएको र आपराधिक गतिविधि कम भएको समेत अध्यक्ष सापकोटाले बताएका थिए ।

बिदाइ मन्तव्य राख्दै डिएसपी बस्नेतले धरानको सम्झना र धरानेहरुको माया सदैव यादगार हुने बताएका थिए । बस्नेतले आफ्नो घर तरहरा भए पनि विद्यार्थी जीवन धरानमा व्यतीत भएको र धरान घरजस्तो लाग्ने बताएका थिए । बस्नेतले आफ्नो कार्यकालमा सुनसरी उद्योग वाणिज्य सङ्घले गरेको सहकार्य सदैव स्मरणीय रहेको बताए ।

कार्यक्रममा नवनियुक्त डिएसपी नरेन्द्र कुँवरले सुनसरी उद्योग वाणिज्य सङ्घको सदैव सहकार्यको अपेक्षा गरे । कुँवरले आर्थिक गतिविधि हुने बैक, लघुवित्त संस्था र व्यवसायीहरूलाई सुरक्षाका लागि प्रहरी सदैव संवेदनशील रहने बताए ।

सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै डिएसपी बस्नेत पुनः जिल्ला प्रहरी कार्यालय सुनसरीमा बढुवा भई आउने अपेक्षा गर्दै कार्यकालभर बस्नेतले गरेको सहयोग र सक्रियताका निम्ति आभार व्यक्त गरे । सङ्घको सभा हलमा सम्पन्न सो कार्यक्रमको सभापतित्व अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए ।