धरान : ७० औँ मदन भण्डारीको जन्म जयन्तीको अवसरमा धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुनसरी क्षेत्र नं. १ कमिटी, तथा नेपाल केन्पो खुकुरी माशर्ल आर्ट्स सङ्घ र राष्ट्रिय युवा सङ्घ धरान उपमहानगर कमिटीको संयुक्त आयोजनमा भानुचोकमा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा अभियानसँगको सहकार्यमा आयोजित रक्तदानमा १०६ पिन्ट रगत संकलन भएको एकेडेमीका क्षेत्रिय अध्यक्ष चित्र लिम्बुले जानकारी दिए । रक्तदान जस्तो महत्वपूर्ण रचनात्मक कार्यक्रम गरिएको छ,’उनले भने,‘एकेडेमीले यो रचनात्मक कार्यक्रमको आयोजना गरेको बताए ।

खुकुरी माशर्ल आर्ट्स सङ्घ का नगर अध्यक्ष राजीव गुरुङले ‘देशमा अहिले रगत अभाव छ । रेडक्रस सोसाइटीले पनि देशमा रगत अभाव छ भनिरहेको अवस्थालाई बुझेर कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मुरारी सुवेदीले कोरोना महामारीले देशभर रगत अभाव भएको अवस्थामा युवाहरू सङ्गठित भएको संस्थाले रक्तदान जस्तो महत्त्वपूर्ण परोपकारी र सामाजिक कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा धरान उपमहानगरपालिकाको नगर प्रमुख तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रक्तदानमा राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।