धरान : असारको मध्य सम्म आइपुग्दा सुनसरी १३ र मोरङमा १२ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

सुनसरीमा ५५ हजार हेक्टर धान खेती योग्य जमिनमा अहिले सम्म ७ हजार १ सय ५० हेक्टरमा धान रोपाई भइसकेको छ ।

प्रतिशतको आधारमा भन्ने हो भने सुनसरीमा अहिले सम्म १३ प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र सुनसरीका बाली विकास अधिकृत योगेन्द्र यादवले बताए ।

गत बर्सहरूको तुलनामा यो वर्ष सुनसरीमा धान रोपाई असार १५ सम्म आइपुग्दा बढी भएको उनले बताए । यस वर्ष मनसुन पनि चाडै सुरु भएकोले किसानले पनि समयमै धान रोप्न पाएका हुन् ।

जेठको अन्तिम साता देखि धान रोप्न सुरु हुने सुनसरीमा यही अनुपातमा धान रोपाइ हुने हो भने असारमै धेरै धान रोपाइ सम्पन्न हुनेछ । मौसमले साथ दियो र यस्तै अवस्था रहयो भने सुनसरीमा रोपाइ समयमै सकिनेछ ।

सुनसरी जिल्लामा गतबर्ष ५५ हजार हेक्टर मध्ये ५३ हजार ३ सय ५० हेक्टरमा धान खेती भएको थियो । ४.१० मेट्रिक टन प्रति हेक्टरका दरले २ लाख १८ हजार ४ सय १५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

यसै गरी मोरङमा पनि अहिले सम्म १२ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

मोरङको ८३ हजार ३ सय हेक्टर धान खेती योग्य जमिन मध्ये गत वर्ष ८१ हजार ६ सय ३४ हेक्टरमा धान खेती भएको थियो । ४.१० मेट्रिक टन प्रति हेक्टरका दरले ३ लाख ३४ हजार ६ सय ९९ मेट्रिक टन धान उत्पादन भएको थियो । 

मोरङमा पनि रोपाइदर हेर्ने हो भने समयमै रोपाइ सम्पन्न हुने अधिकृत यादवले बताए ।