धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले उपकुलपतिको कार्यकक्षमा थुनेका छन् ।

प्रतिष्ठानको बेथिति अन्त्यको लागि आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले हिजो देखि आफ्नो माग सम्बोधन नगरेको भन्दै रिले अनसन सुरु गरेर आन्दोलन अघि बढाई रहेको बेलामा आज साढे ३ बजे आन्दोलनरत पक्षलाई उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको उपस्थितिमा बर्तामा बोलाइएको थियो ।

निकै लामो समय काठमाडौँ बसेर प्रतिष्ठान आइपुगेका उपकुलपति गिरीले आन्दोलनरत समूहलाई वार्तामा बोलाए पछि संयुक्त सङ्घर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा प्रवेश गर्दा उपकुलपति मादक पदार्थ सेवन गरेको पाईएको आन्दोलनकारीहरुले बताएका छन् ।

बोली लरिबरिएकोले उनी मातेर कार्यकक्षमा आएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । उपकुलपति मातेकोले गर्दा आजको वार्ता भाँडिएको अनसनमा रहेका एक जना चिकित्सकले बताए । मातेको अवस्थामा आइपुगेका उपकुलपति गिरी र अरू पदाधिकारीहरूलाई अहिले आन्दोलनकारीहरुले उपकुलपतिको कार्यकक्षमा थुनेर राखेका छन् ।

आन्दोलनकारीहरुले अहिले उपकुलपतिको कार्यकक्ष घेरेका छन् भने उपकुलपतिको मापसे परीक्षण गर्नुपर्ने लगायतको माग गर्दै नाराबाजी गरी रहेका छन् ।

तस्बिर सौजन्य : सञ्जय याक्खा

BP-Andolan 3