इटहरी : चाँडो खोपको व्यवस्था गरी सवारी भाडा समायोजन गर्न यातायात व्यवसायीले माग गरेका छन्।

प्रदेश १ का सार्वजनिक यातायात व्यवसायी र यातायात मजदुरहरूले खोपको व्यवस्था र भाडा समायोजन नभए आफूले यातायातका साधन सञ्चालन नगर्ने चेतावनी दिएका छन्।

सार्वजनिक यातायातका मजदुर पनि अग्र पङ्क्तिमा आउने नागरिक भन्दै खोपको व्यवस्था मिलाउन माग गरेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासङ्घ प्रदेश १ ले मंगलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै लकडाउन अवधिको भाडा समेत समायोजन गर्न आग्रह गरेको छ।

प्रदेश १ भरिका ४० हजार सवारी साधन त्यसमा आश्रित १ लाख जना मजदुर समस्या परेको सङ्घको ठहर छ। बैङ्कको व्याज बढ्दै जाने र भाडा दर घट्दै जाने प्रक्रियाले आफूहरू अन्यायमा परेको उनीहरूको बुझाई छ।

महासङ्घका प्रदेश १ अध्यक्ष रमेश खत्रीका अनुसार पहिलो चरणको कोरोना महामारीमा पनि सरकारले कुनै सहयोग गरेन । अहिले आएर स्वास्थ्य सुरक्षा प्रदान नगरी यातायात सञ्चालन गर्न आग्रह गर्नु आपत्तिजनक भएको उनको भनाइ छ।

महासङ्घले आगामी १८ गतेबाट यातायातका साधन सञ्चालन गर्ने जनाएको छ । हालसम्म प्रदेश १ मा कुनै पनि सार्वजनिक सवारी चल्न सकेका छैनन् ।