धरान : बीपीको बेथिति अन्त्यको माग गर्दै आन्दोलनरत प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी र कर्मचारी सम्मिलित संयुक्त सङ्घर्ष समितिले अव प्रतिष्ठानका पदाधिकारीहरुसंग वार्ता नगर्ने भएको छ ।

मङ्गलवार अपराह्न साढे ३ बजे आन्दोलनरत संयुक्त सङ्घर्ष समितिलाई वार्तामा बोलाइएको थियो । सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिसँग वार्ता गर्न आएका चारै जना पदाधिकारीहरुमध्ये उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले मादक पदार्थ सेवन गरेको जस्तो बोली लरबराएको थियो ।

वार्ता गर्न आएका उपकुलपति मातेर आएकोले वार्तामा बस्न औचित्य नभएको भन्दै सङ्घर्ष समितिको वार्ता टोलीले विरोध जनाउँदै उपकुलपति गिरीको मापसे परीक्षण गर्न माग गरे । त्यस पछि चारै जना पदाधिकारीलाई उपकुलपतिको कार्यकक्षमा आन्दोलनकारीले थुनेका थिए ।

उपकुलपतिले मापसे गरेको हो की होइन ? कुनै औषधी प्रयोग गरेको हो की होइन भनेर परीक्षण गर्न माग गर्दा प्रहरीले आफूहरूलाई नदिएको संयुक्त सङ्घर्ष समितिका सदस्य डा. पदम नेपालीले कपुरी न्युजलाई बताए ।

असार १ गते देखि आन्दोलन सुरु गरेको संयुक्त सङ्घर्ष समितिको आन्दोलन सोमबार देखि रिले अनसनमा परिणत भएको थियो । प्रतिष्ठानमा भएका बेथितिको अन्त्य गर्नुपर्ने लगायतका १२ बुँदे सुद्धिकरणका मागहरू राखेर आन्दोलन सङ्घर्ष समितिले थालेको थियो ।

यता प्रतिष्ठानको सुद्धिकरणको आन्दोलन चलिरहेको बेला बेवास्ता गर्दै लामो समय काठमाडौँ बसेर प्रतिष्ठान आइपुगेका उपकुलपतिले आन्दोलनकारीको माग सम्बोधन गर्नुको साटो मातेर वार्तामा आएकोले अव प्रतिष्ठानका पदाधिकारीहरुसंग वार्ता हुन नसक्ने सङ्घर्ष समितिले जनाएको छ ।

अहिले यो समाचार तयार पारिरहँदा रातको १० बजे सम्म पनि उपकुलपतिको कार्यालय अगाडी आन्दोलनकारीहरूको निकै बाक्लो भिड लागेको छ । चारै जना पदाधिकारीको राजीनामा माग गर्दै नाराबाजी भइरहेको छ ।

सङ्घर्ष समितिले अव देखि उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरुप्रसाद खनाल, रजिस्टर डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक डा. गौरीशङ्कर साहसँग वार्ता नहुने र मन्त्रालय स्तरीय उच्च वार्ता टोलीसँग मात्रै वार्ता हुने डा. नेपालीले बताए ।

पदाधिकारीबाट प्रतिष्ठानको दोहन हुनुको साथै बेथिति चरम हुने गरेकोले आफूहरू सुद्धिकरणको अभियानमा आन्दोलन गरेको उनले बताए । अव पदाधिकारीसँगको कुनै पनि वार्ता हुन नसक्ने बताउँदै भोलि देखि चारै जना पदाधिकारीको कार्यकक्षमा ताला लगाइने बताइएको छ ।

BP-Andolan-4 3

प्रतिष्ठानको पदाधिकारीबाट त्रुटि भयो : नागरिक दबाब सञ्जाल
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई धरानको साखकोरुपमा सुधार गर्नका लागि गठित नागरिक दबाब समूहका अध्यक्ष डा. राजेन्द्र शर्माले प्रतिष्ठान भित्रको आन्तरिक मामिला समेत मिलाउन नसकेर समस्या उछालिएको बताएका छन् ।

उनले भने–प्रतिष्ठानका पदाधिकारीबाट ठुलो त्रुटि भयो । प्रतिष्ठानका उपकुलपतिको असक्षमता देखियो । त्यसमा पदाधिकारीको पनि झन् ठुलो असक्षमता देखियो ।

उपकुलपति जस्तो मान्छे कार्यालय समयमा रक्सी खाएर उपस्थित हुनु अमर्यादित भयो । अझ पदाधिकारीले उपकुलपति त्यस्तो अवस्थामा हुँदा समेत वार्तामा बसाउनु उपकुलपतिलाई गलत देखाएर आफूहरू पानीमाथिको ओभानो बन्न खोज्नु देखियो ।

यसले के स्पष्ट पार्छ भने प्रतिष्ठानको पदाधिकारीमा गम्भीर त्रुटिसँगै असक्षमता देखिएको भन्दै डा. शर्माले भने अव सङ्घर्ष समितिको मागलाई सम्बोधन गर्नका लागि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत उच्च स्तरीय छानबिन समितिको गठन गरी प्रतिष्ठानको बेथितिको छानबिन गरी वार्ता टोली बनाएर वार्ता गर्नुपर्छ ।

नागरिक दबाब सञ्जाल धरानले पनि प्रतिष्ठानलाई सुधारका लागि एक हप्ते अल्टिमेटम दिएको थियो । त्यसको बेवास्ता गर्दै उपकुलपति काठमाडौँ गएपछि तीन दिन अघि सञ्जाल र दलीय संयन्त्रले पुनः ३ दिने अल्टिमेटम दिएका थिए ।

सो अल्टिमेटम अनुसार बुधवार उपकुलपतिले वार्तामा बोलाएका थिए । अव त्यो वार्ता नहुने सञ्जालका संयोजक डा. शर्माले बताए ।

BP-Andolan-2 3