इटहरी : कोभिड-१९ को कारण जारी लकडाउनले होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । अन्य व्यवसाय बिस्तारै खुल्दै गए पनि होटेल तथा रेस्टुरेन्ट मात्र बन्द हुनु दुखद भएको भन्दै खुलाउन माग गरेका हुन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरूले स्वास्थ्य सावधानी अपनाएर होटेल खोल्न पाउनुपर्ने धारणा राखे । होटेल व्यवसायी सङ्घ सुनसरी, धरान र इटहरी नगर समितिले होटेल तथा पर्यटन व्यवसाय धराशायी भएको भन्दै सञ्चालन गर्न दिन माग राखेका हुन्।

“करोडौँको लगानीको यस व्यवसाय कोरोनाको कारण थला परेको स्थिति छ । बढ्दै गरेको बैङ्कको व्याज, चर्को घर भाडा, स्टाफको खर्च, बिजुली बत्ती र अन्य विभिन्न खर्चहरूले गर्दा हामी एकदमै मारमा परिरहेका छौ,” ज्ञापन पत्रमा भनिएको छ । व्यवसायीहरू विस्थापित हुने अवस्था सृजना भएकोले अन्य व्यवसाय जस्तै होटेल पनि सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मङ्गलवारबाट बजार पसल खोल्न दिने निर्णय गरेसँगै होटेल व्यवसायीहरूले पनि माग राखेका हुन् । होटेल रेस्टुरेन्ट, जिमहल, पार्लर तथा सैलुन, फिल्म हल बाहेक बजार पसल बिहान १० बजे देखी दिउसो ४ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

अन्य बजार पसल सञ्चालन हुँदा स्वास्थ्य सुरक्षाको सावधानी सहित होटेल रेस्टुरेन्ट पनि सञ्चालन गर्न पाउनुपर्ने होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली बताउँछन् ।

पहिलो र दोस्रो भेरीयन्टमा सबैभन्दा धेरै समस्यामा होटेल तथा पर्यटन क्षेत्र परेको भन्दै उनले यसलाई सहजता तर्फ उन्मुख गराउनुपर्ने बताए । बैङ्कको व्याज र स्टाफ खर्चले ऋणको भार बढ्दै गएको अवस्थामा धेरै व्यवसायीहरू पलायन हुने खतरा बढेको उनको भनाई छ ।