धरान : गत जेठ ५ गते धरान–४ को बैदाङ खोपमा सडेको अवस्थामा भेटिएको धरान ५ का २५ वर्षीय प्रदीप सुब्बाको मृत्यु प्रकरणमा प्रहरीले गरेको अनुसन्धान फितलो भएको पीडित पक्षहरूले गुनासो गरेका छन् ।

घटनाको प्रभावकारी र परिमाणमुखी अनुसन्धान नभए पछि मृतकका आफन्तहरूले पत्रकार सम्मेलन गर्दै सो गुनासो गरेका हुन् । मृतककी बहिनी कृतिमा सुब्बाले धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत र इन्स्पेक्टर हेमराज ओलीको टोली आफै घटना स्थलमा पुग्दा पनि मुचुल्का उठाउँदा लापरबाही गरेको र प्रहरीले हड्डीका पाँच वटा टुक्का घटना स्थलमा नै छाडेको बताइन् ।

बहिनी कृतिमाका अनुसार घटनाको प्रकृति हेर्दा सुनियोजित अपराध प्रस्ट देखिएको दाबी गर्दै भनिन् शवको टाउकोको हड्डीमै समेत गम्भीर चोट देखिनु, हात, शव तान्दा टाउको छुट्टिनु, बाटोदेखि निकै पर (हिँडेर जाँदा करिब ४० मिनेट लाग्ने ठाउँ) मा शव भेटिनु आदि कारणले पनि घटना रहस्यमय छ ।

यस्तै मृतकका आफन्त पर्ने भाइ एरुस राईले प्रहरीले किटानी जाहेरी दिँदा पनि दर्ता गरेको भनेर धरान प्रहरीले परिवारजन सँग झुट बोलेको तर, हालसम्म दर्ता नगरेको, प्रहरीलाई घटनाबारे सोध्दा पौठेजोरी खेलेको भन्दै नराम्रो प्रतिक्रिया दिएको बताए ।

मृतकका बुबा सूर्य बहादुर सुब्बाले गरिब भनेर प्रहरीले वास्ता नगरेको, १ महिना बित्दा पनि प्रहरीले सन्तोषजनक अनुसन्धान नगरेको , डाक्टरले सबै रिपोर्ट प्रहरीलाइृ दिँदा पनि आफन्तलाई प्रहरीले पोस्टमार्टम रिपोर्ट नभनेको हुँदा घटना गोप्य राख्न प्रहरीको नै संलग्नता भएको आरोप लगाएका छन् ।

उनले सत्य तथ्य बाहिर आउनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने माग गरे । अनुसन्धानमा ढिलाइ भइरहेको भन्दै असन्तुष्टि जनाउँदै उनले भने अनुसन्धान भइरहेको मात्रै भनेको सुनिन्छ । तर,हत्या वा अन्य के हो पत्ता लागेको छैन, न्याय मिल्छ कसरी भन्नु ?’

प्रदीपको शव जङ्गलमा सुँगुरको चारो खोज्न जाने क्रममा एक महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले देख्ने महिला को हुन ? भनी अहिले सम्म पत्ता लगाउन नसकेको बहिनी कृतिमाले बताइन् ।

प्रदीप वैशाख ७ गतेअघि आफूसँगै बस्दै आएका थिए । एक जना साथीले मोबाइल बनाइदिएको रहेछ म जान्छु भन्दै त्यहाँदेखि उनी घर फर्केनन् । उनको शव जेठ ५ गते जङ्गलमा कुहिएको अवस्थामा फेला परेको हो ।
मृतक प्रदीप आमासँग बस्दै गरेको भए पनि उनी पछिल्लो समय धरान–८ मा बहिनीकोमा बस्दा बेपत्ता भएका थिए ।

घटनाका अनुसन्धान अधिकृत इन्स्पेक्टर ओलीले अनुसन्धान भई नै रहेको बताएका छन् । धरानमा आएका नयाँ डिएसपी नरेन्द्र कुँवरले प्रदीप सुब्बा मृत फेला प्रकरणलाई सूक्ष्म ढङ्गले अध्ययन गरेर अघि बढ्ने बताएका छन् । म नयाँ छु बुझेर सत्य तथ्य बाहिर ल्याउँछु ।