धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिको विरुद्धमा आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले ७ दिने अल्टिमेटम दिँदै प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

प्रतिष्ठानमा बढ्दो बेथितिको अन्त्यको माग गर्दै असार १ गते देखि त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले गर्दै आएको आन्दोलनको क्रममा हिजो पदाधिकारीसँग वार्ता गर्नेक्रममा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले रक्सी खाएर वार्ता स्थलमा उपस्थित भएकोले वार्ता भाँडिएको भन्दै आज देखि ७ दिने अल्टिमेटम सहित पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन अघि बढाएको सङ्घर्ष समितिले जनाएको छ ।

प्रतिष्ठानको साख र प्रतिष्ठा पुनः स्थापित गर्दै सुद्दिकरणको अभिप्रायले विगत १६ दिन देखि आन्दोलनरत रहेको संयुक्त सङ्घर्ष समितिले कुलपति एवम् प्रधानमन्त्री समेतलाई जानकारी गराउँदा पनि यसको समाधान नभएकोले सोमबार देखि आन्दोलनको स्वरूप परिवर्तन गरेर रिले अनसन सुरु भएको थियो ।

सङ्घर्ष समितिको आन्दोलनलाई सम्बोधन गर्नका लागि पदाधिकारीहरूको गैर जिम्मेवारीपन, लाचारीपन एवम् शून्य तैयारीले हामीलाई स्तब्ध तुल्याएको भन्दै समितिले आज एक विज्ञप्ति जारी गरेको छ ।

सार्वजनिक स्तरमा सम्पूर्ण मिडियाकर्मी, राजनीतिकर्मी एवं नागरिक समाज, एवम् निर्वाचित जनप्रतिनिधि उपस्थित भई मादक पदार्थ सेवन गरिएको हो भन्ने जाहेर गर्दागर्दै पनि त्यसलाई जाँच गरेर सहयोग गर्न त कता हो कता जाँच गर्ने प्रक्रियालाई नै अवरुद्ध पार्न प्रहरी प्रशासनको रवैया अत्यन्तै खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो आन्दोलनको क्रममा बाहिरबाट अरू भिजिलान्ते प्रवेश गरी अराजक गतिविधि गरेर सङ्घर्ष समितिको आन्दोलनलाई तुहाउने प्रयास भएको भन्दै रिले अनसनलाई स्थगित गरी तालाबन्दी र ७ दिने अल्टिमेटममा आन्दोलनको स्वरूप अघि बढाएको समितिका सदस्य डा. पदम नेपालीले बताए ।

पदाधिकारीको तालाबन्दी पछि असक्षम सम्पूर्ण पदाधिकारीहरूको राजीनामा एवम् बहिर्गमन हुनुपर्ने, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गरिनु पर्ने, अबका दिनमा पदाधिकारीहरू चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरूले दिएको सुझाव अनुसार विशिष्टीकृत एवम् विज्ञहरूको समूह बनाई उक्त समूहले सिफारिस गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाइनुपर्ने पनि माग गरिएको छ ।

यस्तो गम्भीर विषयमा आजसम्म देखिएका सुस्तता पुनः प्रदर्शन गरिएमा र अबको एक हप्ता भित्र संयुक्त सङ्घर्ष समितिले राखेको मागहरूको यथोचित सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टीहरू, कर्मचारीहरू, आवासीय चिकित्सकहरू विद्यार्थीहरू सामूहिक राजीनामा दिई प्रधानमन्त्री कार्यालय घेर्न काठमाडौँ उपस्थित हुने पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

BP-Bigyapti