धरान : धरान उपमहानगरपालिका-८ बाट ब्राउनसुगर सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । 

हिजो साँझ ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय विमल भुजेल र धरान-१५ का ४१ वर्षीय आइतराज लिम्बुलाई तिन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डी.सी. सहित पक्राउ गरेको हो।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए। 

यसै गरी उता झापाको इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ६ बजे दमक नगरपालिका-५ घर भई शिवसताक्षी नगरपालिका-९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ ।

मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रित लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।