झापा : झापाको कमल गाउँपालिका ५ कि स्व.कुलमाया बस्नेतको परिवारले नयाँ घर पाउने भएका छन्। कमल गाउँपालिका-५ मा अर्काको घरमा बसेर अर्काकै जग्गा कमाउँदै आएका बस्नेतको परिवारले नयाँ घर पाउने भएको हो।

अढाई वर्ष अघि खोले पकाउने क्रममा आगोमा परेर गम्भीर घाइते भएकी कुलमायालाई परिवारले आर्थिक अभावका कारण उपचार गर्न नसकेर केराको पातमा सुताएर राखेको समाचार कपुरी न्युजका झापा सहकर्मी सुदिप अधिकारीले बाहिर ल्याएका थिए। उनकै सक्रियतामा कमल गाउँपालिकाका समाजसेवी हुकुमसिंह राईको संयोजकत्वमा कुलमाया बचाउ अभियान सुरु भएको थियो । तत्पश्चात् दमकस्थित एडभान्स अस्पतालका सञ्चालक द्वय चैतन्य बराल र माधव पराजुलीले बस्नेतको उपचार आफ्नो अस्पतालमा निःशुल्क गरिदिने बताएका थिए। कुलमायाको उपचारकै क्रममा मृत्यु भएपछि उनको नाममा सङ्कलित रकम उक्त समितिले दमकस्थित एक बैङ्कमा खाता खोलेर राखेको थियो।

उक्त रकमको केही प्रतिशत मात्र खर्च गरी अन्य रकम मनकारी दाताहरूको सहयोगमा सङ्कलन भएपछि उनको परिवारका लागि घर निर्माण भएको छ। कमल गाउँपालिका ५ मै जग्गा व्यवस्थापन गरी कुलमाया बचाउ अभियानलाई कुलमायाको परिवारलाई घर निर्माण गर्न अभियानलाई निर्माण समितिमा रूपान्तरण गरी १० धुर जग्गामा ३ कोठे घर निर्माण सम्पन्न भएको छ।

कुलमायाको विषयमा पहिलो पटक आम सञ्चार माध्यममार्फत समाचार बाहिर ल्याएका अधिकारीका अनुसार अभियान तथा समितिमा भएको सम्पूर्ण हिसाब किताब स्वर्गीय कुलमायाका बुवा देवीबहादुर बस्नेतलाई घरको चाबी हस्तान्तरण गर्ने दिन सार्वजनिक गरिने भएको छ।

अधिकारीका अनुसार यसै हप्ता कुलमायाको परिवारलाई घरको चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । कुलमाया मानसिक रूपमा अशक्त समेत रहेको र उनको परिवारका सदस्यको आय श्रोत नभएका कारण कुलमायाको उपचारमा समस्या भएको विषयमा झापा दमकका सञ्चारकर्मी सुदिप अधिकारीले पहिलो पटक समाचार बाहिर ल्याएका थिए । उनले समाचार सम्प्रेषण गरेपश्चात् उनलाई सहयोग गर्नेहरू बढेका थिए।