धरान : धरानका एक जना सहित मोरङ र झापा छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् ।

मोरङको बेलवारी नगरपालिका-१ हटिया लाइनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डी.सी. सहित १ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार दिउँसो बेलवारी नगरपालिका-१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङलाई विभिन्न प्रकारका लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान ४ बजे ३ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-६ का २७ वर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको छ।

यस्तै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१२ घर भई इटहरी बस्दै आएका ४२ वर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाईलक्स डी.सी. सहित कोसी गाउँपालिका-१ बाट पक्राउ गरेको जानकारी दिएको छ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।