धरान : नागरिक दबाब सञ्जाल धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी कार्यालय समयमै मादक पदार्थ सेवन गरेर संस्थाका जिम्मेवार पदाधिकारीहरू वार्तामा आउनु अति नै गम्भीर एवम् अक्षम्य अपराध हो भनेको छ ।

सञ्जालले आज एक विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गर्नेले जुन दर्जाको अपराध गरेको छ¸ उसलाई मातिएको हालतमा वार्तामा प्रस्तुत गरेर नङ्ग्याउने चेष्टा र षडयन्त्रमा सामेल अरू पदाधिकारीहरू समेत सोही दर्जाका अपराधी हुन् भन्ने हामीले ठहर गरेका छौँ भनेको छ । विज्ञप्तिमा पदाधिकारीहरूको यस्तो स्तर विहीन प्रस्तुति र बदनियत पूर्ण हर्कतको हामी घोर भर्त्सना गर्दछौँ ।

सञ्जालका संयोजक डा. राजेन्द्र शर्मा र सदस्य सचिव डा. कमल तिगेलाद्वार हस्ताक्षरित सो विज्ञप्तिमा समस्याको भुमरीमा प्रतिष्ठानलाई जाकेर धमिलो पानीमा माछा मार्न पल्केकाहरू प्रतिष्ठान कै आसपास घुमिरहेका होलान् ।

यति बेला यस प्रतिष्ठानलाई आफ्नो प्राण सरह माया गर्नेहरूले¸ यसका हितैषीहरूले र प्रतिष्ठान प्रेमी तमाम सेवाग्राहीहरूले ठुलो सतर्कता र संयम अपनाउने बेला आएको छ भनिएको छ । सञ्जालले भ्रष्टाचारको जालोलाई चिर्न र गुम्दै गरेको यस प्रतिष्ठानको ख्यातिलाई पुनरुत्थान गर्न हामी एकजुट हुने बेला आएको छ ।

उत्कृष्ट मेडिकल कलेजका रूपमा, पूर्वाञ्चलको रेफरल हस्पिटलका रूपमा र अन्तर्राष्ट्रिय मान सम्मानका रूपमा स्थापित यस प्रतिष्ठानलाई क्षणिक लाभको मोहमा कोही लिप्त छ भने उसलाई आवश्यक दण्ड दिन सदैव हाम्रो सकारात्मक पहल रहनेछ विज्ञप्तिमा उल्लेख छ ।

सञ्जालले सङ्घीय सरकारसँग यो प्रतिष्ठानमा भएका समस्याहरूको तत्काल निराकरणका उपायहरूको खोजी गर्न र यसको गरिमालाई पुनः स्थापित गर्न एक अधिकार सम्पन्न उच्च स्तरीय छानबिन आयोग गठनको माग समेत गरेको छ ।

छानबिनबाट प्रमाणित भएका दोषीहरू उपर हदैसम्मको कारबाहीको पनि हामी माग गरेको छ । मङ्गलवारको परिस्थितिका कारण नयाँ मोडमा पुगेको संयुक्त सङ्घर्ष समितिले उठाएका प्रतिष्ठान सुधारका जायज एवम् पेसागत मागहरूको तत्काल सम्बोधन गरी हाल उत्पन्न गतिरोध अन्त्यका लागि पहल गर्न समेत हामी सरकारसँग जोडदार माग गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न स्थानीय र राष्ट्रिय मुद्दाहरूमा नागरिक तहबाट निगरानी गर्दै खबरदारी गर्न र धरानको गौरवका रूपमा स्थापित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान कै साख गिर्ने गरी हुने गरेका गतिविधि विरुद्ध आवाज उठाउँदै विकृति र विसंगतिहरुको अन्त्य गर्न दबाब सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको “धरान नागरिक दबाब सञ्जालको हिजो असार १५ गतेको उपकुलपति कार्यालयमा घटेको दुखद घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।