धरान : १६ दिन देखी जारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन झनै चर्किँदै गएको छ। प्रतिष्ठान सुधारको माग गर्दै सुरु भएको आन्दोलन उपकुलपति सहित पदाधिकारीको राजीनामा मागमा पुगेको छ। मङ्गलवारको वार्तामा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरि मादक पदार्थ सेवन गरेर आएपछि वार्ता भाँडिएको थियो ।

आन्दोलनरत समूहले बुधवार बिहानै देखी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर राजीनामा माग गरेका छन् । सोही मागलाई ऐक्यबद्धता जनाउँदै प्रशासनिक नर्सिङ तथा प्राविधिक प्रजातान्त्रिक कर्मचारी समिति र कर्मचारी कल्याण समाजले विज्ञप्ति जारी गरेका छन्।

प्रतिष्ठानका समग्र विकासलाई थाती राखेर पद र धन आर्जनमा पदाधिकारी तथा उपकुलपति लागेको कारण प्रतिष्ठान विघटनको सङ्घारमा पुगेको छ कर्मचारी समिति द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

उपकुलपतिले मादक पदार्थ सेवन गरेर निर्लज्ज रूपमा प्रस्तुत हुने र वार्तामा संलग्न कर्मचारीले उपकुलपति मातेर आएको भन्दै बाहिर सूचना दिने कामले प्रतिष्ठानका कर्मचारीको चरित्र उदाङ्गीएको छ समितिको ठहर छ । सचिव दीप पौडेल र अध्यक्ष कन्तलाल चौधरीद्वारा जारी विज्ञप्तिमा हाल कायम रहेका ४ जना मध्ये एक जना पनि पदाधिकारी पदमा रहे प्रतिष्ठान ध्वस्त हुने भन्दै चारै जना पदाधिकारीले राजीनामा दिनुपर्ने उनीहरूको माग गरिएको छ।

उता कर्मचारी कल्याण समाजले पनि पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत सुधार नभएकाले आन्दोलन गर्नुपरेको ठहर गरेको छ । समाजका कावा अध्यक्ष उमेश थापा द्वारा जारी विज्ञप्तिमा कर्मचारीको तलब तथा जोखिम भक्ता उपलब्ध नगराउने र जनसरोकारका विषयमा ध्यान नदिने काम भएको उल्लेख गरिएको छ। प्रतिष्ठानका कर्मचारीहरू एक अर्काका विरुद्ध षड्यन्त्र पूर्वक लाग्ने काम गरिरहेको समाजले बताएको छ।

प्रतिष्ठानमा नियमित जम्मा हुने पेन्सन फण्ड, सञ्चय कोष, नागरिक लगानी कोष, उपदान कोषमा जम्मा भएको रकम समेत सिद्ध्याउने खेल भइरहेको बताइएको छ । कर्मचारी तथा चिकित्सकलाई हतोत्साहित गर्ने काम भइरहेको प्रति समाजको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठान बिगार्ने र धराशायी बनाउने काममा पदाधिकारीहरू लागिपरेकोले चारै जना पदाधिकारीले राजीनामा दिनुपर्ने समाजको माग छ।

BP-karmachari-press-releaseBP-karmachari-press-3BP-karmachari-press-releaee