रामेछाप : रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भएको छ। कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्वास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरूका लागि कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्वास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरू अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताइन ।

मनोसामाजिक परामर्शका कार्यक्रमहरू आगामी दिनहरूमा नगरपालिकाका सबै वडाहरूमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइन । तालिमको सहजीकरण मनोविद् गोपाल ढकालले गरेका थिए । रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा, यौन दुर्व्यवहार, अपराधका कतिपय घटनाहरू मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्ने बताए।

कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले अहिलेको अवस्थामा कार्यक्रम अति नै समय सान्दर्भिक भएको, रामेछाप नगरपालिका भित्र पहिलो पटक यस्तो प्रकारको तालिमको आयोजना गरिएको र आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा गर्नु आवश्यक रहेको औँल्याए । कार्यक्रममा पचास जना भन्दा बढीको सहभागी रहेको थियो ।