धरान : उदयपुरको बेलका नगरपालिका परिसर क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको छ ।

झडपमा परि ४ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणको लागि छ राउन्ड हवाई फायर र बिस राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

बुधवारको दिउँसो घटनामा जिल्ला प्रहरी कार्यालयका उदयपुरका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झन्डै १ सय २६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया सुरु हुँदा सो जग्गामा बसोबास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको थियो ।

सो सरकारी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका जनताले जग्गाको लालपुर्जा आफूहरूले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरूलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले बताए ।

नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ । दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

आन्दोलनकारी मध्येका एक रामकुमार भुजेलले आफूहरू लामो समयदेखि सुकुम्वासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलियत वन बनाउन सिफारिस गरेपछि आफूहरूको उठिबास हुने भएकाले नगरपालिकामा मागहरू राख्न गएको बताए ।

नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णय सहित कार्य अगाडि बढाएको जनाएको छ ।

घटना लगत्तै अवस्था सामान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आन्दोलनकारीका अगुवा संयुक्तरुपमा छलफल र वार्तामा जुटेको प्रहरीले बताएको छ ।

यस अघि पनि उक्त जग्गाको विषयलाई लिएर मेयर, उपमेयर, वडाध्यक्ष र इन्जिनियरहरूको घरमा अज्ञान समूहले ढुङ्गा मुढा प्रहरी गरेको थियो । यस स्थानमा पछिल्लो समय केही स्थानीय युवाहरूले अराजक कार्यहरू गर्दा समाजमा घट्ने घटना सँग स्थानीय त्रसित छन् भने प्रहरीको शान्ति सुरक्षा कार्यान्वयन पक्षमा प्रश्न उठेको छ ।