धरान : संस्थागत (निजी) विद्यालयहरूले मनोमानी वार्षिक तथा मासिक शुल्क लिइरहेको भन्दै धरान अभिभावक विद्यार्थी परिवारले रोक्न माग गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई स्मरण पत्र बुझाएका छन् ।

अभिभावकहरूले धरान उपमहानगरपालिकामा पुगेर मेयर तिलक राईलाई स्मरण पत्र बुझाउँदै यस्तो परिस्थितिमा संस्थागत (निजी) विद्यालयहरूले भने नयाँ शैक्षिक सत्रका लागि गत वर्षको तुलनामा भन्दा अत्यधिक प्रतिशतमा वार्षिक तथा मासिक शुल्क लिन थालेको जनाएका छन् ।

यति बिघ्न चर्को शुल्क लिनु किमार्थ न्यायसङ्गत, मानवीय र नैतिक कर्म हुँदै होइन । शिक्षा नियमावलीले तोकेअनुसार कानुनी रूपमा पनि जायज ठहरिन्न । यसै कारण शैक्षिक गतिविधि, अनुगमन, निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गरी आम सर्वसाधारणलाई न्याय दिलाउन हामी अभिभावकहरू फेरि पनि स्थानीय सरकारसमक्ष बाध्य भएर न्याय माग्न आएका छौँ स्मरण पत्रमा उल्लेख गरिएको छ ।

संस्थागत (निजी) विद्यालयहरूले अभिभावकबाट मनोमानी रूपमा शुल्क उठाउन थालेको वार्षिक तथा मासिक शुल्क लिने कार्य अविलम्ब रोक्नका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक निर्देशन जारी गर्न माग पनि गरेका छन् ।

कोभिड महामारीको अवस्था, चुनौती र त्रास गत वर्षजस्तै रहेकोले विद्यालयमा प्रत्यक्ष पठनपाठन हुने अवस्था नहुँदा तथा अनलाइन कक्षा पनि व्यवस्थित, सर्वसुलभ, पूर्ण प्रभावकारी नभएकोले स्थानीय सरकारले यो शैक्षिक सत्रमा देखा पर्ने समस्याहरू समाधानका लागि भविष्यमा एकै प्रकारको समस्या लिएर हामी अभिभावकहरू बारम्बार न्याय माग्न स्थानीय सरकारको ढोका चाहर्नु नपर्ने गरी सर्वपक्षीय छलफल गरी न्यायोचित निर्णय, निर्देशन, नियन्त्रण र निरन्तर अनुगमन गर्न आग्रह गर्दछौँ ।

स्वास्थ्य मन्त्रालयले नै कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै २० प्रतिशत बेड छुट्टाउन अस्पताललाई निर्देशन दिइसकेको भन्दै अभिभावक परिवारले यो शैक्षिक सत्रमा पनि बालबालिकाले भौतिकरुपमा उपस्थित भएर पठनपाठन गर्न सक्ने अवस्था नभएको जनाएको छ ।

अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेट सेवा गुणस्तरीय नहुने, खराब दृश्य र आवाजले गर्दा नबुझी नबुझी पढ्नुपर्ने, नबुझेको कुरा सोध्दा सोध्दै समय खेर जानेलगायत समस्या हुने पनि स्मरण पत्रमा उल्लेख गरिएको छ ।

स्मरण पत्र बुझ्दै मेयर राईले सकरात्मकरुपमा लिएको र सरोकारवालाहरूबिच छलफल गर्ने बताएको अभिभावक विकास भाटीले कपुरी न्युजलाई जानकारी दिए । स्मरण पत्रको बोधार्थ इलाका प्रशासन कार्यालय, धरानलाई आवश्यक निरीक्षण र अनुगमन गरी दिन,नागरिक दबाब सञ्जाल धरान साथ र समर्थन दिन, प्याब्सन धरान, एन प्याब्सन धरान र एसीसी धरानलाई सहयोग र समझदारी गरी दिनु हुन भन्दै दिइएको अभिभावक विकास भाटीले जानकारी दिए ।