धरान : धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै धरानमा ८२ जनामा कोरोना सङ्क्रमण भएको छ । प्रदेशको रिपोर्ट सही भएको भन्दै धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर पनि बढ्दै गएको बताए ।

धरानमा कोरोनाको दोस्रो लहरबाट अहिले सम्म ३ हजार २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये विजयपुर हस्पिटल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा गरी १५ जना उपचाररत रहेका छन् भने १३ जना हरियाली आइसोलेसनमा रहेका छन् । धरानमा कोरोनाका सक्रिय सङ्क्रमित ४ सय ६ जना रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । आज धरान-१४ बाबाधाम मार्गका ४९ वर्षीय एक पुरुषको उपचारको क्रममा बीपीको कोभिड अस्पतालमा मृत्यु भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

धरानमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै मानिसको चहलपहल बढी भएकोले कोरोना संक्रमणदर पनि वृद्धि भएको बताइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार खुल्ला हुनु र स्वास्थ्य मापदण्ड नअपनाउनु कोरोना संक्रमणदर बुद्धिको मुख्य कारण भएको स्वास्थ्य विज्ञहरूको भनाई छ ।