पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न प्रवासी युवाहरूले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

गाउँपालिकाको कार्यालयमा “कुम्मायक गाउँपालिका सरोकार मञ्च दक्षिण कोरियाका युवाहरूले ३ लाख बढी मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

रोजगारीको सिलसिलामा प्रवासमा रहेका गाउँपालिकाका युवाहरूले ३ लाख ४७ हजार २ सय १२ रुपैयाँको १० थान अक्सिजन, स्यानिटाइजर, मास्क लगायत सामाग्री सहयोग गरेका हुन । त्यस्तै ५ वटै वडालाई ५१ हजार मूल्यको औषधी गरी ३ लाख ९८ हजार २ सय १२ रुपैयाँको स्वास्थ्य सामाग्री वितरण गरेको मञ्चका कुम्मायक सदस्य हुकुमवीर लावतीले बताए । यासोक—देउराली समाज काठमाण्डौंको समन्वयमा मञ्चले स्वास्थ्य सामाग्री गाउँपालिकालाई हस्तान्तरण गर्न सफल भएको लावतीले जानकारी दिए ।

यस अघि यासोक—देउराली सरोकार सेवा समाज काठमाण्डौंले ५ लाख मूल्यको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । समाजको समन्वयमा स्वास्थ्य सेवा विभाग मार्फत ४ लाख ४० हजार र समाजको तर्फबाट ६० हजार बराबरको स्वास्थ्य सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

महामारीको समयमा स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले युवाहरूको प्रशंसा गरे । उनले विदेशी भूमिमा पसिना बगाएर कमाएको रकमबाट आफ्नो गाउँपालिकावासीको स्वास्थ्यमा ठुलो सहयोग गरेको भन्दै युवाहरूको योगदानलाई कहिल्यै नभुल्ने बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, कुम्मायक–१ का वडा अध्यक्ष देवेन्द्रकुमार लावती, ५ का वडा अध्यक्ष यामबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख केदारबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

Kummayok-1