धरान : मादक पदार्थ सेवन गरेर कार चलाउँदा एक जनाको ज्यान जाने गरी सवारी दुर्घटना गराउने विराटनगरका २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई गत बुधवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि कार्की विराटनगर कारागार चलान भएको मोरङ अदालतले जनाएको छ ।

कार्की विरुद्ध सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मङ्गलवार अभियोग दर्ता गराएको थियो । अभियुक्तलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जरिवाना माग दाबी राखेर अभियोग दर्ता भएको थियो ।

कार चलाउने रोविन प्रदेश सांसद बिन्दिया कार्कीले छोरा हुन् । उनले गत जेठ २० गते राति प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेस्ट स्टिल उद्योगका कामदार हुन् । मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।