धरान : इलाका प्रहरी कार्यालय सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादव सेवाग्राही सँग ६० हजार घुस लिएको पुष्टि भएको छ ।

घुस लिएको पुष्टि भएपछि यादवविरुद्ध ६० हजार कायम गरी घुस÷रिसवत लिई भ्रष्टाचार गरेको आरोप–पत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले जनाएको छ ।

यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले प्रहरी जवान यादवलाई घुस लिएको रकमसहित मिति २०७७ चैत्र २६ गते नियन्त्रणमा लिएको थियो ।

अख्तियारको टोलीले अनुसन्धानको सिलसिलामा यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग रु. ६० हजार घुस माग गरी लिएको पुष्टि भएको छ ।

उक्त घुस रिसवत कार्य भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएकोले यादवलाई उक्त कसुरमा बिगो ६० हजार रुपैयाँ कायम गरी भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोप पत्र पनि दायर गरेको छ ।