धरान : ४२ लाखको लगानीमा सुनसरीको धरान १२ स्थित गत वर्ष सञ्चालनमा मेघा कलेजले नयाँ शैक्षिक सत्रमा प्लस टुमा फुड एन्ड न्युट्रेसन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नेपालमा स्नातक ( व्याचलर ) तहमा मात्र खाद्य प्रविधि र पोषण विज्ञान ( फुड एन्ड न्युट्रेसन) को पठनपाठन भएको तर, नेपालमा सरकारी वा निजी कतै पनि ११ र १२ कक्षामा यो विषयको पठनपाठन नभएकाले विद्यार्थीहरू विद्यालय तहबाटै व्यावहारिक शिक्षाबाट लाभान्वित हुँदै आत्मनिर्भर गराउने उद्देश्यले नेपालमा नै पहिलो पटक पठनपाठन गराउने तयारी गरिएको कलेजका एकेडेमी डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार नेपाल एजुकेसन बोर्ड अन्तर्गत यो कलेजमा खाद्य प्रविधि र पोषण विज्ञान साइन्सतर्फ अध्ययन गराउने स्वीकृत भएको हो भने विज्ञान सङ्कायमा मास्टर डिग्री गरेका ४ जना शिक्षकले अहिले मेघा कलेजमा खाद्य प्रविधि र पोषण विज्ञान तर्फ एचओडी भएर काम गर्ने जिम्मा पाएका छन् ।

नयाँ विषय ११ र १२ कक्षामा विद्यार्थीहरूका लागि नेपालमा नै पहिलो पटक ल्याउन चुनौती भएता पनि उक्त विषयको पठनपाठन गराउन पूर्ण रूपमा तयारी भएको बताउँदै घिमिरेले भने प्राध्यापकहरूकै समस्या हो, तर, मेघालाई प्राध्यापकको सवालमा त्यस्तो ठुलो कुनै चुनौती नभएको उनले बताए ।

विज्ञान सङ्कायमा विद्यार्धीहरुलाई आवश्यक पर्ने प्रयोगशालाहरूको पनि निर्माण सम्पन्न भइसकेको छ । जसको ४२ लाख बराबरको लागतमा निर्माण भएको जानकारी कलेजले दिएको छ । यसका अतिरिक्त विज्ञान सङ्कायअन्तर्गत कम्प्युटर विज्ञान पनि सञ्चालनमा ल्याउने उनले बताए । यसको लागि आवश्यक भौतिक संरचना तयार भइसकेको डाइरेक्टर घिमिरेले बताए ।