धरान : धरान-१० नारायण चौकको सैलाहाङ किराना पसलमा चोरी गरेको आरोपमा एक दम्पतीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-६ पानबारी स्थित एक बोर्डिङ स्कुलमा पढाउँदै आएका धरान-१० मा डेरा गरी बस्ने झापाको बुद्धशान्ति-१ निवासी २५ वर्षीय पङ्कज भट्टराई र उनकी श्रीमती प्रिन्जु पोखरेल भट्टराई रहेका छन् ।

बन्दाबन्दीका कारण बन्द रहेको पसलको नक्कली चाबी बनाई चोरी गरेको पसलका सञ्चालक सन्तोष लिम्बूले जानकारी दिए । चोरी भएकोबारे आफूलाई असार १२ गते मात्रै जानकारी भएपछि इलाका प्रहरी कार्यालय धरानलाई चोरी भएको सामग्री सहित अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको उनले बताए ।

प्रहरीले खोजतलास गर्दा पसलको माथिल्लो तलामा बस्ने पङ्कज भट्टराईको कोठाबाट किराना पसलको हराएका सामग्री ठुलो मात्रामा बरामद गरेपछि प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीका अनुसार ति दम्पतीको कोठामा हराएको सामान फेला परेकोले केही दिन अघि अनुसन्धानको लागि पक्राउ गरिएको जनाएका छन् ।

पसल सञ्चालक लिम्बूले इलाका प्रहरी कार्यालय धरानलाई चोरी भएका सामग्रीको जानकारीसहित भट्टराईविरुद्ध ५ लाख रुपैयाँ बरावरको सामान चोरी भएको भन्दै किटानी जाहेरी दिएका छन् । पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।