धरान : सुनसरीको इटहरी उप–महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् ।

तामाङ इटहरी–३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

ज्येष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका व्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ । यसै गरी इटहरी–६ मा रहेको कुलायन ट्रेडर्सबाट नाइट्रोजन ग्यास सिलिन्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा–३ बाट चोरी भएको नाइट्रोजन ग्यास सिलिन्डर सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।