धरान : केही दिन देखिको निरन्तरको वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले आज बिहान ८ बजे मापन गरे अनुसार २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानीको बहाव रहेको छ । पानीको बहाव उच्च भयसँगै कोसी ब्यारेजमा खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

राति देखि बहाव बढ्यो, कोसी ब्यारेज कन्ट्रोल रुमका एक अधिकारीले भने अहिले ५६ ढोका मध्ये २९ ढोका खुल्ला गरिएको छ । उनका अनुसार यो वर्षकै उच्च पानीको बहाव आज बिहान ८ बजे मापन गरिएको बताए ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले अझै पानीको बहाव बढ्न सक्ने बताइएको छ ।

यसै गरी बाढी पूर्वानुमान महाशाखाका अनुसार गए राति भएको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

नदी तथा खोलाहरूमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ । इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, होचो ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन पनि आग्रह गरेको छ ।

koshi1