धरान : केही दिन देखिको अविरल वर्षा सँगै सुनसरी खोलामा आएको बाढीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-७ को १४ घर डुबानमा परेका छन् । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार भोक्राहानरसिंह -७ को टपरा टोलका १४ घर डुबानमा परेपछि उनीहरूको उद्धार गरी सामुदायिक भवनमा राखिएको छ ।

सुनसरी खोलाको पानीको सतह बढेर बस्ती डुबानमा हुन पुगेको उनले बताए । सुनसरीका दक्षिणबर्ती  क्षेत्रहरूमा वर्षासँगै डुबानको जोखिम बढेको बताइएको छ । अहिले सम्म सुनसरीमा कटान र पहिरोको त्यस्तो कुनै जोखिम नदेखिएको र घटना पनि नघटेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने डुबान भने सुरु भएको छ । 

यसै गरी हरीनगर गाउँपालिकाको वडानं १,२ र ४ नम्बरमा पनि सुनसरी खोला र मोरिया खोलाको बाढीले डुबान गरेको जानकारी प्राप्त भएको छ । त्यहाँ के कति घर परिवार डुबानमा परे यसबारेमा भने पूर्ण विवरण आइसकेको छैन । 

यसैगरी धरान १७ को पटनालीमा पनि पटनाली खोलाले एउटा टहरो बगाएको १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको बिहीबार बसेको बैठकले विपदमा उद्धारका लागि सुरक्षा निकायहरू (नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी)ले खोज, उद्धार तथा राहत कार्यको लागि गोताखोर सहित विशेष टोली तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ  ।

बैठकले जिल्लाको १२ वटै स्थानीय तहले आवश्यक सामग्री तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । बैठकले प्रत्येक स्थानीय तहहरूले रबरको बोट एक थान, लाइफ ज्याकेट ५० थान, मेन डोरी ४÷५ रोल, क्यारेबेना हुक १० थान, स्ट्रेचर ४ थान र रेस्क्यु ट्युब(प्लास्टिक) ५ थान तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।