धरान : मोरङको बेलबारी नगरपालिका-७ दौलतपुरमा एक महिला आफ्नै कोठामा मृत फेला परेकी छिन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले दिएको जानकारी अनुसार बेलबारी नगरपालिका वडानं. ७ दौलथपुर बस्ने ४४ वर्षीय सीता देवी घिमिरे मृत फेला परेकी हुन् । कोठामा टाउकोमा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अहिले बेलबारी प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरी मुचुल्का उठाइरहेको छ भने मृतकका श्रीमान् ५६ वर्षीय अम्बिका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना के कारणले घटेको हो ? सीतालाई कसले हत्या गर्‍यो भन्ने बारेमा भने घटना स्थलमै रहेका प्रहरी निरीक्षक सरोज खनालले अनुसन्धान पछि घटनाको विवरण बताउने बताए । अहिले अनुसन्धानको क्रममा रहेकोले घटनाको बारेमा केही भन्न नमिल्ने उनले बताए ।