झापा : झापाको दमक नगरपालिकाका विभिन्न क्षेत्रहरू गएरातिदेखीको अविरल वर्षाका कारण डुबानमा परेका छन् ।

पानीको उचित निकास नभएका कारण यस क्षेत्रमा विभिन्न भेगहरू डुबानमा पर्दै आएका छन् । गए राति देखी झापा लगायत देशका विभिन्न क्षेत्रमा परेको पानीका कारण मुलुकका विभिन्न क्षेत्रहरू डुबानमा परिरहेका बेला झापाको दमक नगरपालिका पनि डुबानको समस्या परेको छ ।

Damak-Duban-4

नगरपालिकाको वडा नम्बर १ स्थित कुमाल चोक, पञ्चमुखी टोल लगायतका क्षेत्रहरू डुबानमा परेका छन् । पानी निकासको भरपर्दो व्यवस्था नहुँदा सामान्य वर्षामा पनि यी क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

अर्कोतिर विभिन्न संरचना निर्माण गर्दा पानीको निकासलाई ध्यान दिनुपर्ने भए पनि त्यसो नगरिएका कारण हरेक बर्खामा यी क्षेत्रहरू डुबानको चपेटामा पर्दै आएका छन् । एउटा संरचना बनाउँदा अर्को संरचनालाई असर गर्छ कि गर्दैन भनेर हेर्ने काम नहुनु नै यी क्षेत्र हरेक बर्खामा डुबानमा पर्नुको कारक मध्येमा पर्ने गरेका छन् ।

Damak-Duban-2

दमकका यी क्षेत्र मात्र हैन अन्य क्षेत्रको समस्या पनि उस्तै नै छ । नगरका सडकहरू फराकिलो त बनेका छन् तर अधिकांश सडकमा ढलको निकास भने खोलिएको छैन । जसले गर्दा सामान्य बर्सात हुँदा पनि दमकमा डुबान हुने गरेको छ । गए राति देखीको अविरल वर्षाले नगर क्षेत्रमा पर्ने मुख्य सडकमै पनि खोलो कुदेझैँ अवस्था बनाएको छ भने कतै स–साना पोखरी नै बनेका छन् ।

सडकमा पानी जमेकै कारण सडक आसपासका बासिन्दा, व्यापारी तथा यात्रुले निक्कै सास्ती खेप्नुपरेको छ ।

Damak-Duban-1