धरान : धरान उपमहानगरपालिकाको नवौँ नगर सभाको आज हुने भनिएको बैठक असार २५ गते सम्मलाई सारिएको छ ।

असार १० गते उद्घाटन भई नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेर स्थगित भएको नगर सभाको बैठक आज असार १९ गतेलाई तोकिएको थियो ।

आवश्यक तयारी पुरा नभएकोले २५ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा बस्ने गरी स्थगित गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले कपुरी न्युजलाई जानकारी दिए ।

वडाहरूलाई बजेटको सिलिङ पठाइसकिएको तर कोरोना महामारी र बाढी पहिरो लगायतले वडाहरूबाट उपमहानगरलाई प्राप्त हुन नसकेको र कार्यपालिका बैठक बसेर पारित गरेर मात्रै छलफलमा बस्नु पर्ने लगायतको तयारी नपुगेकोले नगरसभा बैठक सारिएको खतिवडाले बताए ।

यस पटकको धरान उपमहानगरपालिकाको बजेटमा अनावश्यक बजेट शीर्षकको भएको भन्दै वडाध्यक्षहरूले असन्तुष्टि जनाउँदै आएका छन् भने सिलिङ पनि वडालाई ढिलो मात्रै पठाएको वडाध्यक्षहरूले बताएका छन् ।

असार १९ गतेका लागि विशेष तयारी हुन नसकेकोले अव असार २५ गते सम्म नगरसभा बैठक सारिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।