धरान : भुगोलविद तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख सूर्यकुमार राईको निधन भएको छ।

इटहरी-२० तरहरामा शनिवार अपराह्न ४ बजेर १० मिनेटमा घरको छतबाट लडेर निधन भएको प्रहरीले जनाएको छ।

६६ वर्षीय राईले घरभित्र पानी पसेपछि छतमा गएर पाइप लिकेज भएको ठाउँमा हेर्ने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको बताइएको छ। धेरै विद्यार्थीहरूका गुरु, स्थानीय युवाहरूका मार्ग निर्देशक राई तरहराका बुद्धिजीवीकोरुपमा परिचित थिए ।

नागरिक समाज इटहरीका सल्लाहकार, भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सुनसरीका विज्ञ सदस्य, किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन्। उनी हाल यायोक्खा सुनसरीको सल्लाहकार समेत रहेका राईको छतबाट लडेर उनको टाउकोको पछाडिको भाग बजारिएको प्रहरीले जानकारी दिएको छ।

शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । राईको एक श्रीमती, दुई छोराहरू रहेका छन् ।