इटहरी  : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुमा विपद्का कारण विस्थापित भएर अस्थायी स्थलमा आश्रय लिइरहेका परिवारहरू तथा बाढी प्रभावित समुदायलाई तरङ्गिन फाउन्डेसन र ओरेक नेपालले मनोसामाजिक मनोविमर्श मार्फत सहयोग अभियान सञ्चालन गरेको छ ।

मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सहकार्यमा यो अभियान सुरु भएको हो । अभियान अन्तर्गत बाढी प्रभावित किशोरीहरू र महिलाहरूलाई परामर्शकर्ताहरूबाट स्वहेरचाह र मनोविमर्श सेवाहरू प्रदान गर्ने छन् । साथै विपतको कारण हुने तनाव, चिन्ता, समस्या वा महिला तथा किशोरीमाथि हुने हिंसाका बारेमा परामर्शकर्ताले सहजीकरण गर्नेछन् ।

अहिले बाढी प्रभावित हेलम्बुमा ८ जना मनोविमर्शकर्ता र २ जना पब्लिक हेल्थको टिम मार्फत बाढी प्रभावित समुदायलाई सहयोग गदै आएको छ । हेलम्बुको ४ वटा वडामा सेन्टर बनाएर टिमले १५ दिनसम्म काम गर्ने ओरेक नेपालको स्थापन अध्यक्ष एवम् तरङ्गिन फाउन्डेसनको अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिए । साथै बाढी प्रभावित यी क्षेत्रका बालबालिकाहरूलाई समेत मन विमर्शको कामसँगै आर्ट थेरापी सञ्चालन भइरहेको बताए ।

अधिकारीका अनुसार हेलम्बु क्षेत्रमा कोरोनाको सङ्क्रमण बढी रहेको अवस्थामा पनि सुरक्षित भएर टिमले काम गरिरहेको बताए । स्थानीय निकायबाट पनि यो अभियानलाई पूर्ण सहयोग भइरहेको वहाँको भनाई छ । 

असार १ गते सिन्धुपाल्चोक जिल्लामा आएको बाढी र पहिरोका कारण करिब ९ सय जना बासिन्दा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको विवरण छ। जसमा मेलम्ची नगरपालिकाका अन्दाजी ६०० जना र हेलम्बु गाउँपालिकाका अन्दाजी ३०० जना बासिन्दा प्रभावित भएको जनाइएको छ ।

helambu-orek