गछिया : मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् ।
४८ वर्षीय श्रीमती सीता घिमिरेको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जनाएका छन् ।

शनिवार बिहान सीताको सुतेकै स्थानमा शव फेला परेको थियो । उनको टाउकोबाट अत्यधिक रगत बगेको थियो ।

प्रहरीले अनुसन्धान गर्नैक्रममा घरभित्र मुङ्ग्रो फेला परेको थियो । त्यसमा रगतका छिटा लागेको थियो । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका मृतकका श्रीमानलाई सोधपुछ गर्दा उनले मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग वादविवाद भएको बताएका छन् ।

वादविवादपछि सुतेका घिमिरेले बिहान साढे २ बजे उठेर श्रीमतीको टाउकोमा मुङ्ग्रो प्रहार गरेको बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए ।

श्रीमतीलाई मुङ्ग्रो प्रहार गरेपछि घिमिरे घरदेखि दुई किलोमिटर दक्षिणको गोठमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अम्बिका घिमिरे माथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।