धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्‍याली निकालेका छन् ।

विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानको शुद्धीकरण अभियानका लागि बीपीका कर्मचारीहरूको संयुक्त सङ्घर्ष समितिले आज बृहत र्‍याली प्रदर्शन गरेको हो ।

असार १ गतेबाट सुरु भएको आन्दोलन आज २० औ दिन पुगेको छ । बीपीको बेथिति विरुद्धको आन्दोलनलाई समर्थन गर्न बीपीका पूर्व विद्यार्थीहरू काठमाडौँ, झापा, बुटवल र विराटनगरबाट पनि आएर सहभागिता जनाएका छन् ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यालय अगाडिबाट सुरु भएको बृहत् र्‍याली भानुचौक पुगेर पुनः उपकुलपतिको कार्यालय अगाडी पुगेर सकिएको छ ।

गएको १५ गते बीपीको बेथिति विरुद्ध आन्दोलनरत सङ्घर्ष समितिसँगको बार् तामा उपकुलपति गिरीले मदिरा सेवन गरेर उपस्थित भएपछि बीपीको आन्दोलनले अर्काेरुप लिएको हो ।

असार १४ गतेबाट रिले अनसन थालेको संयुक्त सङ्घर्ष समितिसँग वार्ताको क्रममा मदिरा सेवन गरेर उपकुलपति उपस्थित भएको भन्दै सङ्घर्ष समितिका तर्फबाट सहभागी वार्ता समितिले वार्ता बहिस्कार गरेको थियो ।

त्यस पछि प्रतिष्ठानको चारै जना पदाधिकारीहरूको राजीनामाको माग गर्दै तालाबन्दी गरेपछि अहिले आन्दोलन सरकारी उच्च वार्ता टोलीसँग मात्रै वार्ता गर्ने भन्दै सङ्घर्ष समितिले आन्दोलन जारी राखेको छ ।

प्रतिष्ठानका चार पदाधिकारी उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, रजिस्टर डा.मोहनचन्द्र रेग्मी, रेक्टर डा. गुरु खनाल, डाइरेक्टर डा.गौरीशङ्कर शाहको राजीनामा माग गरी नयाँ नेतृत्वको समेत माग गरेका छन् ।
अहिले आएर प्रतिष्ठानको आन्दोलन स्थानीय देखि केन्द्र सम्मको चासोको विषय बनेको छ ।

BP-Andolan-1