धरान : गिरिजा प्रसाद कोइराला फाउन्डेसन सुनसरीले अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

नेपाली राजनीतिका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तिको अवसरमा फाउन्डेसनले धरान–१७ स्थित विभिन्न टोलका अति विपन्न २१ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष चन्द्रशेखर लामाले अति विपन्न परिवारलाई चामल, नुन, तेल, दाल लगायत खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार उक्त राहत सामग्री फाउन्डेसन सुनसरी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले रकम सङ्कलन गरेर वितरण गरिएको हो ।

खाद्यान्न वितरण गर्दै अध्यक्ष लामाले स्व. कोइरालाले देशमा स्थायी शान्ति र लोकतन्त्रका लागि खेल्नु भएको भूमिकामाथि प्रकाश पार्दै वहाँलाई हामीले बिर्सनै नसकिने व्यक्ति रहेको बताए । फाउन्डेसनका महासचिव गङ्गा चौलागाई, सल्लाहकारहरू हिरा उदास, श्यामा रेग्मी, सदस्यहरू निलु गिरी थापा, युवराज शङ्कर, राजु साह लगाएको उपस्थिति रहेका थिए ।

साथै, राहत वितरणका लागि रेल्वे यूथ क्लबका संरक्षक नर्सिङ राईले गरेका थिए । गिरिजा प्रसाद कोइराला फाउन्डेसनले नेपालसहित विश्वका विभिन्न देशमा स्व. कोइरालाको ९८ औँ जन्म जयन्तीको अवसरमा शुक्रवार सुनसरी जिल्ला कार्यसमितिले पनि लामो बन्दाबन्दीको कारण समस्यामा परेकाहरूलाई राहत वितरण गरेको फाउन्डेसन सुनसरीका सदस्य युवराज शंकरले जानकारी दिए ।