धरान : कोरोनाको दोस्रो लहर अरू ठाउँमा घट्दो क्रममा रहे पनि धरानमा भने कोरोना संक्रमणदर उच्च हुँदै गएको छ ।

पछिल्लो समय कोरोना संक्रमणदर घटेको भन्दै प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै धरानमा झन् कोरोना संक्रमणदर वृद्धि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

सुनसरी जिल्लाको अरू पालिकाहरूमा सङ्क्रमण दर कम देखिएको भए पनि धरानमा भने दैनिक ४० भन्दा बढी कोरोना सङ्क्रमित थपिँदै छन् । आइतबार सामाजिक विकास मन्त्रालयले धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ जना भने पनि धरानको सभागृहमा गरिएको एन्टिजेन परीक्षणमा ३७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

यो सँगै धरानमा आइतबार मात्रै धरानमा ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका ४३ जना सँगै धरानमा वैशाख १ गते यता अहिले सम्म ३ हजार २ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा धरानमा ७८ जनाको मृत्यु भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले धरानमा करिब साढे ४ सय बढी सक्रिय सङ्क्रमित रहेका छन् भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल र विजयपुर हस्पिटलमा १५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ भने हरियाली आइसोलेसनमा १३ जना सङ्क्रमित राखिएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

धरानमा किन बढ्यो सङ्क्रमण ?
कोरोना संक्रमणदर अरू ठाउँमा घटेको भए पनि धरानमा दैनिक बढ्दै गएको छ ।

यसो हुनुको मुख्य कारण धरान बजार अव्यवस्थित तरिकाले खुल्ला हुनु, तरकारी बजारहरूमा बढी भिडभाड हुने, स्वास्थ्य सावधानी नअपनाउनु र मानिसको बढी भिडभाड हुनुले हुनसक्ने स्वास्थ्य विज्ञहरूको भनाई छ ।

यसबारेमा धरान उपमहानगरपालिकाले समयमै सचेतता अपनाएन भने धरान कोरोना महामारीको हटस्पट बन्न सक्ने उनीहरूको भनाई छ । यसबारेमा स्थानीय सरकार धरान उपमहानगरपालिकाले बेलैमा सचेतता अपनाउनुपर्ने देखिन्छ । त्यो सँगै धरानवासी आम नागरिकले पनि आफ्नो स्वास्थ्य सुरक्षाका लागि आफै सचेत र सजग हुनुपर्ने देखिन्छ ।