धरान : धरान उपमहानगरपालिका वडा नं.-६ का किसानलाई खरी जातको बाख्रा र कालो बङ्गुरको पाठी वितरण गरिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्राविधिक तालिम लिएका किसानलाई ११ वटा खरी जातको बाख्रा र ७ वटा कालो बङ्गुरको पाठी वितरण गरिएको हो । आइतबार धरान उपमहानगर परिसरमा मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले बाख्रा र बङ्गुर वितरण गरेका हुन् ।

लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता गङ्गा तामाङका अनुसार धरान उपमहानगरको आयोजना साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा ६ नं. वडाका १८ जना किसानलाई वितरण गरिएको हो ।

वडा नं.-६ मा २७ जना किसानलाई विभाजन गरेर विभिन्न शीर्षकमा लघु उद्यम विकास तालिम दिइएको थियो । सोही तालिम अन्तर्गत किसानलाई खरी जातको बाख्रा र कालो बङ्गुरको पाठी वितरण गरिएको उनले जानकारी दिए । उनले वडा नं.-१४ का १३ जना कृषकलाई पनि दुग्धजन्य तालिम दिइएको बताए ।