धरान : सोलुखुम्बु, सुनसरी र उदयपुरमा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाउँपालिका –१ खारिखोला का ३३ वर्षीय रिन्जी पासाङ शेर्पाको भर्‍याङबाट लडेर मृत्यु भएको छ ।

सोताङ गाउँपालिका ५ मा रहेको वीरेन्द्र ज्योति माध्यमिक विद्यालयको निर्माणाधीन भवनको मिस्त्री काम गरी सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आइतबार राती ११ बजे भर्‍याङबाट लडेर कन्चटमा चोट लागी गम्भीर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरी सुनसरीको कोसी गाउँपालिका–५ का अजल मियाको ९ वर्षीय छोरा ईर्फान मियाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

आइतबार दिउँसो ३ बजेको समयमा घर नजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाइते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी उदयपुरको रौतामाई नगरपालिका–४ माल्वासेका १३ वर्षीय बालक विशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आइतबार अपराह्न पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।