इटहरी : नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले नेताका छोराहरूले मात्र पार्टी नचल्ने बताएका छन्।

१४ औँ महाधिवेशनमा नेताहरूको दौडधुप बारे कटाक्ष गर्दै उनले आफ्ना पुर्खाको व्याज खाने परम्परा अन्त्य हुनुपर्ने बताए।

महाधिवेशनको पूर्व सन्ध्यामा बिमलेन्द्र निधी, प्रकाशमान सिंह र डा. शशाङ्क कोइराला बिचको भेटघाट प्रति इङ्गित गर्दै उनले नेताका छोराहरूले मात्र पार्टी नचल्ने धारणा राखेका हुन।

प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले क्रियाशील विवाद भएको ठाउँमा पुरानैलाई मान्यता दिएर महाधिवेशन गर्न सकिने भनाइ राखे । यस पटकको महाधिवेशन विषम परिस्थितिमा हुन लागेकाले बुथ देखि क्षेत्रमै चुनाव गरेर नगर र केन्द्रीय नेतृत्व चयन गर्न सकिने उनको सुझाव छ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिले मुलुक राजनैतिक रूपमा जटिल अवस्थामा गुज्रिएको बताए। यो सरकारले आफूले पाएको सुवर्ण अवसर गुमाएको खतिवडाको भनाई छ।

"नेकपा र एमालेको आफ्नै आन्तरिक झगडाको कारण दुई पटक संसद् विघटन गरेर मुलुक लाई बन्धक बनाउने काम सरकारले गरेको छ ।, उनले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई बेवास्ता गर्दै पुनः संसद् विघटन गर्नुभयो ।

धारा ५ ले एउटा स्वतन्त्र सांसद पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेको छ । सोही बमोजिम नेपाली काँग्रेसका सांसद शेरबहादुर देउवाले प्रधानमन्त्री दाबी पेस गर्नुभयो । तर संसद् विघटन पछि पुनः अदालतको ढोकामा पुग्नुपर्‍यो ।"