धरान : धरान वडा नं. ५ मा रहेको खैरेनी कृषि समूहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ। 

सोमबार धरान उपमहानगरपालिका परिसरमा सङ्घीय सरकारको सशर्त अनुदान अन्तर्गत कृषि समूहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको हो । उक्त सामग्री मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरेका थिए। 

मेयर राईले कृषि पेसाप्रति आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सही ढङ्गबाट सदुपयोग गर्न आग्रह गरे। मेयर राईले उक्त सामग्री एकलौटी नभई समूह अर्थात् छरछिमेकमा बाँडेर चलाउन पनि सुझाव दिए।

धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले सङ्घीय सरकारको सशर्त अनुदान अन्तर्गत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिए। सोही बजेट अन्तर्गत धरान ५ मा रहेको खैरेनी कृषि समूहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री आज हस्तान्तरण गरिएको अधिकृत तामाङले बताए।

बालीमा लाग्ने रोग र कीरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरूले लगाएको तरकारी खेतीका लागि एग्रोनेटले ठुलो मद्दत गर्ने अधिकृत तामाङको भनाई छ। खैरेनी कृषि समूहमा ४८ जना छन्। कृषि समूहका किसानहरूले उक्त सामग्री पाएपछि खुसी व्यक्त गरेका थिए ।