धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीले आफ्नो कार्ययोजनामा तस्करी नियन्त्रण प्राथमिकतामा रहेकोले चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रदेश १ का खुल्ला सीमाको फाइदा उठाउँदै तस्करीसँग मिलेर कुनै किसिमका तस्कर गर्ने प्रहरीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउँछु । यो भन्दा अगाडी के भयो थाहा छैन अब तस्करीसँग मिल्ने प्रहरीहरू तत्काल कारबाहीको दायरामा ल्याउने उनले बताएका छन् । उनले प्रहरी तस्करमा संलग्न भएको थाहा भएमा प्रदेश प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरे ।

एक हप्ता अगाडी सरुवा भएर प्रदेश १ मा आएका डिआइजी बिसीले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्ण रूपमा तस्करी नियन्त्रण गर्ने दाबी गर्दै तस्करसँग मिल्ने जुनसुकै तहमा रहेका प्रहरी अधिकारीहरू कारबाहीको दायरमा आउने बताएका हुन् । प्रदेश १ मा रहेको भारतसँग सीमा जोडिने जिल्ला झापा, मोरङ र सुनसरी हो । बोर्डर जोडिएको जिल्लामा तस्करी हुने गरेको जनगुनासो आउने गरेको छ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म पूर्ण रूपमा तस्करी नियन्त्रणमा लागि पर्नेछु ।’

सुनसरी र मोरङमा सरुवा भएर पाँच दिन अगाडी आएका एसपी सञ्जय सिंह थापा र जर्नादन जिसी सामुन्ने डिआइजी बिसीले भने, ‘तस्करी नियन्त्रणमा मेरो कार्ययोजना अनुसार मूल मर्म र दिशा निर्देशन भएर लाग्नुपर्दछ ।’ बिसीले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा आफू लागि पर्ने बताए ।

‘अपराध रहित समाज निर्माण गर्नु मुख्य ध्येय हो,’ उनले भने, ‘आफ्नो कार्यकालभरी अपराध नियन्त्रणमा लागि पर्नेछु ।’ उनले प्रहरीलाई आर्थिक पारदर्शी कायम गराउन लागि पर्ने बताए । डिआइजी बिसीले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै प्रहरी सधैभरी नागरिक मैत्री भएर काम गर्नुपर्ने बताए ।

प्रहरीले मानवअधिकार मैत्री भएर विपद् व्यवस्थापनमा पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । उनले समाजमा शान्ति सुरक्षाको अवस्थालाई कायम गरेर कानुन कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रण गर्ने बताए ।

प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका बिसी एसपी रहँदा मोरङमा ११ महिना बसेका थिए । उनी मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारी हुन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत डिआइजी बिसी पूर्वी नेपालका बारेमा निक्कै जानकार प्रहरी अधिकारी मानिन्छन् ।