धरान : सुनसरीको वराहक्षेत्रबाट १ सय ५० केजी गाँजा र नक्कली पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वराहक्षेत्र नगरपालिका-८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी-७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।

आज बिहानको राती १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेक गर्ने क्रममा भ्यानबाट लागूऔषध गाँजा १५० के.जी, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।