धरान : आज र भोलि प्रदेश १ मा ६० हजार ३ सय ५४ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईदैछ ।

स्वास्थ्य निर्देशनालय धनकुटा प्रदेश १ का खोप अधिकृत उदेश श्रेष्ठका अनुसार प्रदेश १ को १४ जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समुहकाहरुलाई ८ सय ३२ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाईदैछ ।

कुनै पालिकाहरूमा पालिकामा मात्रै त कुनैमा वडा वडामा पनि खोप केन्द्र बनाएर खोप लगाउनेहरूको सहजताका लागि खोप लगाइँदै गरिएको उनले बताए । दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट लगाइने खोप यस पटक यस भन्दा अघिका भेरोसेल खोप लगाउनेहरूका लागि मात्रै भएको पनि उनले बताए ।

पछिल्लो समय कोरोना विरुद्धको खोपको अत्यन्तै बढी माग भएको र पहिलो पटक कोरोना विरुद्धको खोप स्वास्थ्यकर्मीले पनि लगाउन डराएको बताउँदै खोपको माग अत्यन्तै बढिरहेको अधिकृत श्रेष्ठले बताए ।

यसै गरी धरान उपमहानगरपालिकामा पनि आज र भोलि २१४४ जनालाई भेरोसेल खोप लगाईदैछ । धरानमा धरानको छाता चौक स्थित पुरानो हस्पिटल भित्र रहेको धरान स्वास्थ्य चौकी, धरान १८ को कार्मेल हाईस्कुल र धरान १५ स्थित श्याम चोक सेवा समाजको भवनमा गरी तीन वटा खोप केन्द्रबाट दोस्रो मात्राको खोप लगाइँदै गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यसअघि जेठ २५, २६ र २७ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई मात्र दोस्रो मात्रा खोप दिइने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । यसअघि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहकालाई भोरे सेलको पहिलो मात्रा लगाइएको थियो भने अन्य लक्षित समूहलाई पनि दिइएको थियो ।

Khop-1