धरान : धरान उपमहानगरपालिकाले किसानलाई ८ क्वाईल पाइप हस्तान्तरण गरेको छ ।

मङ्गलवार धरान उपमहानगरपालिका परिसरमा उपमेयर मञ्जु भण्डारीले धरान वडा नं.-२० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई ८ क्वाईल पाइप हस्तान्तरण गरेका हुन् । उपमेयर भण्डारीले विष्णुपादुकामा रैथाने धान लड्डु धान उत्पादन हुने बताउँदै यस धानलाई संरक्षण गर्न उपमहानगरपालिका लागेको बताए ।

धरान उपमहानगरपालिकाका कृषि शाखा अधिकृत नगेन्द्र तामाङका अनुसार कृषि समूहलाई ४ लाख ८३ हजार रुपैयाँ बराबरको पाइप प्रदान गरिएको जानकारी दिए । सङ्घीय सरकारको सशर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत किसानलाई पाइप उपलब्ध गराइएको बताइएको छ ।

सङ्घीय सरकारबाट सशर्त अनुदान भनेर २० लाख रुपैयाँ बजेट आएको छ । राष्ट्रिय महत्वको बाली (रैथाने धान) धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो । कोकाहा बहुउद्देश्यीय कृषि समूहमा १६ जना छन् । लाभान्वित घर परिवार सङ्ख्या ४० रहेको छ । विष्णुपादुकाको २० हेक्टर जमिनमा स्थानीय रैथाने लड्डु धान रोप्ने गरिएको छ ।